Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम पिपिए गर्दै प्राधिकरण : एकैदिन १४० मेगावाट क्षमताको तीन आयोजनासँग पिपिए

सोमबार, १२ कार्तिक २०७५, ११ : ४१ मा प्रकाशित

धमाधम पिपिए गर्दै प्राधिकरण :   एकैदिन १४० मेगावाट क्षमताको तीन आयोजनासँग पिपिए

अर्थ संसार, काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ ।

प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ ।

सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि तत्कालका लागि प्राधिकरणले ७० मेगावाट मात्रै खरिद गर्न लागेको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार सो आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र बर्खामा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरेर आयोजना निर्माणमा जाने प्रवद्र्धक ब्लु इनर्जीले जनाएको छ ।

आयोजनाको विद्युत्गृहमा ३३.३३ मेगावाट क्षमताका तीन वटा टर्वाइन राखिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् १८ किलोमिटर दूरीको २२० केभी न्यू मार्किचोक सवस्टेसनमा लगेर जोडिनेछ ।

यसैगरी आज नै मनाङमा आयोजना स्थल रहेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको पनि विद्युत् खरिद सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणका  कार्यकारी निर्देशक घिसिङ र प्रवद्र्धक सीता हाइड्रो पावर कम्पनीका निर्देशक सतिस तिम्सिनाले हस्ताक्षर गर्नुभयो ।

 त्यस्तै प्राधिकरणले आजै विकास हाइड्रो पावरले निर्माण गर्न लागेको ४.५५ मेगावाट क्षमताको मच्छेखोला जलविद्युत् आयोजनाको समेत विद्युत् खरिद सम्झौता भएको छ । ती आयोजनाले आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने प्रतिबद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको