Like us!
Follow us!
Connect us!
Watch us!

दमकलाई कुखुरापालनको नगरी बनाइने

सोमबार, १६ पुस २०७५, १६ : ४४ मा प्रकाशित

दमकलाई कुखुरापालनको नगरी बनाइने

  • यज्ञराज आङ्गदेम्बे

अर्थ संसार, दमक–प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिव २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू रहेका छन् । लियर्सको सङ्ख्या आठ लाख र ब्रोइलर्स करीब १२ लाख भएको सङ्घको अनुमान छ ।

तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पोल्ट्री फार्म अधिक रहेको र ती फार्ममा करिव २५ सय किसानहरू व्यावसायिकरूपमा आबद्ध रहेको सङ्घका प्रदेश संयोजक माधव पराजुलीले जानकारी दिनुभयो । ती फर्ममा किसान बाहेक करीब एक हजार बढीले प्रत्यक्ष रोजगारी समेत पाएको उहाँले वताउनुभयो । फार्ममा करीब रु दुई अर्बको लगानी रहेको अनुमान छ । उहाँले भन्नुभयो, “पोल्ट्री व्यवसायमा बजारीकरण बढेसँगै लगानीसमेत बढ्दै गएको छ ।”

पोल्ट्रीबाट दैनिक उत्पादित उपभोग्य बस्तु स्थानीयदेखि काठमाडौँसम्म निर्यात हुँदैआएको छ । सबै यहाँका वजारमा खपत नहुने भएकाले काठमाडौँका ठूला पोल्ट्री फार्मसम्म बजारीकरण गर्नुपरेको दमकका व्यवसायी समेत रहनुभएका सङ्घका प्रदेश संयोजक पराजुलीले बताउनुभयो ।
पछिल्लो समय पोल्ट्री व्यवसायलाई राज्यले समेत प्रर्वद्धन गर्दैआएपछि यस्ता व्यवसाय फस्टाउँदै गएको स्वयं व्यवसायीहरूको धारणा छ । झापा जिल्ला अण्डा उत्पादक व्यवसायी संघका सचिव राजेन्द्र भण्डारीले अण्डा तथा कुखुरा उत्पादनले झापा आत्मनिर्भर बन्दै गएकोे बताउनुभयो । कुखुराको मासुमा आत्मनिर्भर भएपनि अस्वस्थ प्रतिस्पर्धाले सिङ्गो व्यवसायमा उत्तिकै चुनौती भएको उहाँको भनाइ छ ।

दमकलाई पोल्ट्री उद्योगको सम्भावना भएको नगरीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ पोल्ट्री उद्योगीहरूले चासो देखाएका हुन् । दमकलाई पोल्ट्री उद्योग नगरीका रूपमा विस्तार गर्न यहाँका व्यवसायीहरू जुटेको पराजुलीले बताउनुभयो । उहाँले पोल्ट्री उद्योगको दोस्रो राजधानी बनाउन पूर्वाधार निर्माणको काम धमाधम भइरहेको जानकारी दिनुभयो ।

दमकमा १० ठूला पोल्ट्र«ी उद्योग छन् भने साना किसिमका दुई दर्जन उद्योग सञ्चालनमा रहेका छन् । ठूला उद्योगमा करीब १० हजार कुखुरा रहेका छन् । त्यस्तै, दमकमा पोल्ट्री उद्योगसँगै एक सुविधासम्पन्न प्रशोधन भण्डारण केन्द्र, १० वटा दाना उद्योग, छ वटा ह्याचरी उद्योग सञ्चालित छन् । प्रशोधन भण्डारण स्थापना भएपछि झापा, मोरङ र सुनसरीका पोल्ट्री व्यवसायीहरूले सुविधा पाएका छन् ।

वर्षदिन अघि सञ्चालनमा आएको उक्त भण्डारण केन्द्र करीब रु पाँच करोडको लगानीमा स्थापना भएको हो । भण्डारण कक्षको क्षमता १६ टन रहेको छ । भण्डारण कक्षमा आवश्यक मापदण्ड पूरा गरेर मासु चिस्यान गरिआएको सञ्चालक पराजुली बताउनुहुन्छ । प्रशोधनसहितको भण्डारण केन्द्रले यहाँका कुखुरापालकका उपभोग्य मासु समेत खरिद गर्ने र चिस्यान गरिएका कुखुरा काठमाडौँसम्म निर्यात गर्दैआएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको