अर्थसंसार
पर्वत – पर्वतको बाँसखर्कमा सहर र बिदेश गएकाहरु गाउँ फर्केर सुन्तला खेती गर्न थालेका छन् । सडक र बजार विस्तारसंगै सुन्तलाखेतीबाट आम्दानीको सम्भावना बढेपछि सुबिधा, अवसर र रोजगारीका लागि सहर तथा बिदेश गएकाहरु गाउँ फर्कन थालेका हुन् । छोराछोरी पढाउनका लागि म्याग्दीको बेनीमा बस्दै आएकी बाँसखर्क २ की चन्द्रकुमारी भण्डारी गाउँ फर्कीएर सुन्तला खेतीमा लागेकी छिन् । उनले सुन्तला विक्रीबाट वर्षेनी दुई लाखभन्दा वढी आम्दानी गर्छिन् ।
बेनीमा घडेरीसमेत किनेकी भण्डारीले आठ रोपनी जमिनमा दुई सय बोट सुन्तला लगाएकी छिन् । सुन्तलाले आम्दानी दिन थालेपछि उत्साहित बनेकी भण्डारी बिदेशमा रहेका श्रीमानलाई घर फर्काउने र पढ्दै गरेका छोरालाई रोजगारीका लागि बिदेश नपठाउने सोचमा छिन् ।
‘सुन्तला फल्न थालेपछि बजार जान मन लाग्दैन’ उनले भनिन्, ‘छोरालाई बिदेश पठाउँदिन, श्रीमान्लाई पनि घर फर्कन भनेकी छु ।’ भण्डारी मात्र होईन् बाँसखर्कका धेरैले मकै, कोदो खेती हुने पाखोबारी र खरबारीमा सुन्तला खेती गरेका छन् । गाविसका २ सय ६१ मध्ये दुई सय घरले करिब डेढ सय हेक्टर जमिनमा ब्यवसायिक सुन्तला खेती गरेका छन् ।
सडक सुबिधासँगै सुन्तलाले सहज रुपमा बजार र उचित मूल्य पाउन थालेपछि बाँसखर्कका बासिन्दा सुन्तला खेती विस्तारमा लागेका हुन् । वर्षमा डेढ करोडदेखि दुई करोड रुपियाँ सुन्तला बिक्री गरेर गाउँमा भित्रिने गरेको छ ।
गत वर्ष एक करोड ५० लाख रुपियाँ मूल्य बराबरको सुन्तला निकासी भएको बाँसखर्कमा यस वर्ष सुन्तला उत्पादन बढेको बजारमारे सुन्तला उत्पादक कृषि सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले बताए ।
यस वर्ष दुई करोड रुपियाँ मूल्य बराबरको सुन्तला उत्पादन हुने खत्रीको अनुमान छ । मूल्य पार्नका लागि माघको पहिलो सातादेखि सुन्तला बजारमा पठाउने तयारी गरेको अध्यक्ष खत्रीले बताए । बाँसखर्कको सुन्तला पोखराको बजारमा जाने गरेको छ ।
हाल सत्तरी रुपियाँ प्रतिकिलोमा बिक्री हुने सुन्तला फागुनसम्म राख्दा १ सय रुपियाँभन्दा बढी पर्छ । देशका अन्य ठाउँको सुन्तला बिक्री भैसकेपछि बाँसखर्कको उत्पादन बजार पुग्ने गर्छ । सुन्तला खरिदका लागि ब्यापारीहरु गाउँमै पुगेर मूल्यमा प्रतिस्पर्धा गरिरहेका छन् ।
पश्चिम फर्कीएको बाँसखर्कको हावापानी र भुगोल सुन्तला खेतीका लागि अनुकुल मानिन्छ । सुन्तला बिक्री गरेर एक जना कृषकले वर्षमा ८ लाख रुपियाँसम्म आम्दानी गर्ने कृषक नरबहादुर खत्रीले बताए । सुन्तला बजार पुर्याउन बाँसखर्कका बासिन्दाले दुई वर्षअघि बगरफाँट हुँदै गाउँलाई जोड्ने सडक निर्माण गरेका छन् ।
मिलनचोक मल्लाज हुँदै घुमाउरो बाटोबाट सुन्तला ढुवानी गर्दै आएका बाँसखर्कका कृषकलाई बगरफाँट–बाँसखर्क सडक बनेपछि छिटो र ढुवानी खर्च घटेको छ । बाँसखर्कमा सुन्तला खेती विस्तार हुने क्रमसंगै सिँचाई सुबिधाको भने समस्या देखिएको छ ।
उनिहरुले व्यवस्थित सिँचाईका लागि पुम्दीखोलाबाट पानी ल्याउने योजनाका लागि पहल गरेका छन् । बिशेष गरेर चैत, बैशाखको सुख्खा याममा सिँचाईको समस्या हुन गरेको कृषक गोर्खबहादुर खत्रीले बताए । सिँचाईको व्यवस्था भएमा सुन्तला खेत विस्तार, उत्पादन र गुणस्तर वृद्धी हुने बाँसखर्कका कृषकको अपेक्षा छ ।
डेढ सय हेक्टर पाखोबारीमा ब्यवसायिक सुन्तला खेती गरेका छन् । हाल गाउँ नजिककैको मुहानबाट पाईप मार्फत सिँचाई गर्दै आएका छन् । एक घरले चार सय बोटसम्म सुन्तलाका बिरुवा लगाएका छन् । जिल्ला कृषि विकास कार्यालयले यस क्षेत्रमा सुन्तलामा पकेट कार्यक्रम सञ्चालन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस