नेपाल उद्योग वाणिज्य महासंघले सरकारले सञ्चालन गर्न लागेको मूल्य पारदर्शिता सप्ताहलाई समर्थन गर्दै देशभरका उद्योगी तथा व्यवसायीलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेपछि महासंघले आइतबार विज्ञप्तिमार्फत आफ्नो समर्थन जनाएको हो ।
महासंघले बजारमा वस्तु तथा सेवाको मूल्य निर्धारणलाई थप स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन यस्तो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । उपभोक्ताले सहज रूपमा मूल्य जानकारी पाउने वातावरण निर्माणका लागि व्यवसायीले आफ्नो बिक्रीमा रहेका वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने महासंघको भनाइ छ ।
महासंघले आफ्ना सदस्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा आबद्ध व्यवसायीलाई मन्त्रालयको निर्देशनअनुसार पैठारीकर्ता, आपूर्तिकर्ता, थोक तथा खुद्रा विक्रेतासम्म सबैले स्पष्ट देखिने स्थानमा मूल्यसूची राख्न अनुरोध गरेको छ ।
त्यसैगरी जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई स्थानीय बजार अनुगमनमा सहयोग गर्दै मूल्यसूची राखिएको सुनिश्चित गर्न र जनचेतनामूलक कार्यक्रममा सहभागी भई अभियान सफल बनाउन पनि आग्रह गरिएको छ ।
महासंघले पारदर्शी मूल्य प्रणालीले बजारमा स्वस्थ प्रतिस्पर्धा कायम हुनुका साथै उपभोक्ता हित संरक्षणमा समेत योगदान पुग्ने उल्लेख गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस