Like us!
Follow us!
Connect us!
Watch us!

आज माघे सङ्क्रान्ति

मंगलबार, ०१ माघ २०७५, ०८ : ४३ मा प्रकाशित

आज माघे सङ्क्रान्ति

अर्थ संसार, काठमाडौंँ- आदिवासी जनजातिको महान पर्व माघे सङ्क्रान्ति आज हर्षोल्लासपूर्वक मनाइँदै छ । माघ महिना मध्य हिउँदको एउटा महत्वपूर्ण महिना मानिन्छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति या माघीका रूपमा आआफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाइने गरिन्छ ।

नेवार समुदायमा ‘घ्युचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । संस्कृतिविद् सत्यमोहन जोशी भन्नुहुन्छ, ‘नेवार समुदायले यो दिन विशेष पर्वको रूपमा लिन्छन् । विहान चोखो भएर पहिले आफ्नो आमाको हातबाट तेल लगाइन्छ ।’

यसरी आमाको हातबाट तेल लगाउँदा टाउको दुख्ने जस्ता विभिन्न रोगविरुद्ध लड्न सक्ने क्षमता हुने जनविश्वास रहेको उहाँले जानकारी दिनुभयो । जोशीले यस पर्वमा चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने पनि बताउनुभयो ।

काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवि राजा मानदेवका पालादेखि यो मेला सुरु भएको हो । माघे सङ्क्रतिको दिन तिलको पकवानका लागि प्रसिद्ध छ ।

तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएको लड्डुु विशेष परिकारको रूपमा लिइन्छ । घाममा बसेर तिलको लड्डु, ध्यु, चाकु, सख्खर, तरुल, हरियो लसुन, चिउरा खानाले रोगविरुद्ध लड्ने क्षमता हुने पनि जनविश्वास रहिआएको छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदिबाट समेत राहत मिल्दछ ।

नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लाग्दछ । यसरी माघी नुहाइसकेपछि तिलको सुकेको बुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको