सदीक्षा भट्टराई
काठमाडौँ–राजधानीका पेटीमा सानो ठेला राख्नेदेखि पसल थापेर गुजारा गर्ने मानिसहरु थुप्रै देखिन्छन् । सडकको छेउमा डोको बोकेर, ठेला गुडाएर हिड्नेको पनि कमी छैन । भृकुटीमण्डपको पूर्वबाट बग्ने टुकुचा खोलाको पुलमा सागको डोको साथमा लिएर बसेकी देखिन्छिन् सन्चमाया तामाङ्ग ।
विगत १२ बर्षदेखि साग बेच्दै जीवन यापन गरेकी सन्चमाया कोटेश्वरबाट दिनँहु भृकुटीमन्डपमा आउने गर्छिन् । ‘दिनमा ५० मुँठासम्म साग बिक्री गर्छु । कहिलेकाँही खुर्सानी र कागती पनि राख्ने गरेको छु’ उनले भनिन् । दिनमा ४ देखि ५ सयसम्म आम्दानी हुने जानकारी उनले दिइन् ।
सन्चमायाका श्रीमानले अर्की श्रीमतीसँग घरजम गरेर बसेका छन् । श्रीमानले छोडेको कारण दुई छोरी र एक छोराको पालनपोषणका लागि काम गर्न बाध्य भएको उनले बताईन् । विगतमा श्रीमानले जाँड रक्सी खाएर कुटपिट गर्ने र आफ्नो कमाईसमेत लुट्ने गरेको हुँदा आफ्नो वैवाहीक जीवन असफल भएको उनले बताइन् ।
साग बेचेको कमाईले खान, लाउन र घरभाडा तिर्न धौधौ पर्ने सन्चमायाको भनाइ छ । ‘दुर्गन्धीत टुकुचा खोला अगाडि बस्नु पर्छ, दिनभरको चर्को घाम, धूँवाधूलो, प्रदुषण, ग्राहकको दुब्यवहार सहनु पर्ने काम एकदमै सकस पूर्ण लाग्छ’ उनले भनिन् । त्यसमाथिसडकको पेटीमा व्यापार गर्न नपाउने हुनाले नगरपालिकाको कर्मचारी आएर गाली गर्दै हटाउने गर्छन् ।
कोटेश्वरमा भन्दा भृकुटीमण्डपमा व्यापार बढी हुने भएकाले असहज हुँदाहुँदै यहीँ आइपुग्ने गरेको सन्चमायाले बताईन् । व्यापारको शिलशिलामा धेरै खराब ग्राहकसँगको प्रसङ्ग पनि उनले सुनाईन् । ‘कतिपय ग्राहक आँउछन् । सामान उठाएर पैसा पछि दिन्छु भनेर हिँड्छन् । फेिर भेटै हुदैँन,’ उनले भनिन्, ‘यसरी ग्राहकले मलाई धेरै मर्कामा पनि पारेका छन्।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस