Like us!
Follow us!
Connect us!
Watch us!

अब पानीको पनि एटिएम, १० रुपैयाँ तिरेर लिनुस २०० एमएल पानी

बुधबार, २२ फागुन २०७५, ११ : ०३ मा प्रकाशित

अब पानीको पनि एटिएम, १० रुपैयाँ तिरेर लिनुस २०० एमएल पानी

अर्थ संसार, काठमाडौं–  काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ ।

खानेपानी मन्त्री बिना मगरले वाटर एटीएमको उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि उहाँले एटीएमबाट पानी झारेर पिउनुभएको थियो ।

यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिनुभयो । पहिलो पटक शुभारम्भ गरिएको वाटर एटीएम मेसिन काठमाडौं उपत्यकाका बीस ठाउँमा जडान गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताउनुभयो ।

उद्घाटन पछि कार्यक्रममा बोल्दै मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिई कहीँ कतै चुक्न नदिन बोर्डलाई निर्देशन समेत दिनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले किनेर खाने बोतलको पानी कहिले काँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ । धेरै प्यासीहरुको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ ।”

वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ ।

२ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ । उक्त एटीएममा दुई रुपैंयाको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ ।

बोर्डले सुपिङ ईन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको