Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एयरलाइन्स र फ्लाई दुबईलाई भिन्न भिन्न व्यवहार गरेको भन्दै महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण

विहीबार, २८ चैत्र २०७५, ०८ : ४१ मा प्रकाशित

नेपाल एयरलाइन्स र फ्लाई दुबईलाई भिन्न भिन्न व्यवहार गरेको भन्दै  महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण

अर्थ संसार, काठमाडौँ– अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।

विमानस्थलले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र फ्लाई दुबईको जहाजलाई भिन्न भिन्न व्यवहार गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण सोधेको हो । उडान उल्लङ्घनबारे विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई लिखित रुपमा स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिनुभयो । यद्यपि, के–के विषयमा स्पष्टीस्करण सोधिएको भन्नेबारे आफूलाई पूर्ण जानकारी नभएको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्रालयले आज कार्यालय समयभित्रै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मार्फत विमानस्थललाई पत्र पठाएको बताइएको छ । विमानस्थलले मङ्गलबार राति दुबईको जहाजलाई विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान अनुमति दिएको थियो । विमानस्थलको धावन मार्ग मर्मतका लागि यही चैत १८ देखि राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थलसम्बन्धी अन्तर्राष्ट्रिय नियम (नोटाम) लागू भइसकेको अवस्थामा उडान–अवतरण गराउन पाइँदैन । सोही नियमअनुसार विमानस्थलले एक साताअघि निगमको दुबई उडानको जहाज रोकेको थियो । उक्त उडान ४ मिनेट ढिलो भएको भन्दै जहाजका २७४ यात्रु अलपत्र परेको समाचार सार्वजनिक भएको थियो ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको