रमेश लम्साल
अर्थ संसार, काठमाडौं– नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन ।
लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह काटिँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या हुने गरेको थियो । स्थानीयवासीले राजापुर क्षेत्रमा नै सबस्टेशन निर्माण गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई लामो समयदेखि आग्रह गर्दै आएका थिए । लामो समयदेखिको स्थानीयवासीको माग सम्बोधन भएको छ ।
विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु नौ करोड ३६ लाखको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट क्षमताको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको हो । यसबाट त्यस क्षेत्रका करीब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् । नयाँ सबस्टेशन सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित हुने प्राधिकरणको विश्वास छ ।
कैलालीको टीकापुरबाट राजापुरसम्मको करीब २० किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राससलाई जानकारी दिनुभयो ।
“पहिले राजापुर क्षेत्रमा टीकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले भोल्टेज तलमाथि हुने, पटकपटक लाइन ट्रिप हुने लगायतका समस्या थिए । ती सबै समस्या समाधान हुने भएका छन्”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
टीकापुरबाट ३३ केभी क्षमताको प्रसारण लाइनबाट राजापुर सबस्टेशनमा विद्युत् जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीमा हुने प्राविधिक चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने प्राधिकरणको बुझाइ छ ।
राजापुर सबस्टेशनमा तीन फिडर राखिएको छ । त्यसमध्ये ११ केभीका दुई वटा फिडरबाट विद्युत् आपूर्ति गरिएको प्राधिकरणका नेपालगञ्ज क्षेत्रीय कार्यालयप्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयो । प्राधिकरणले सबस्टेशन निर्माणका लागि आव ०७१÷७२ मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता २०७२ को असारदेखि कार्यान्वयनमा आएको थियो ।
प्राधिकरणले विद्युत्को पहुँच बढाउँदै गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । मुलुकबाट विद्युत्भार कटौतीको अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ ।
चालू आर्थिक वर्षमा मात्रै झापाको घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शीतलपाटी, जाजरकोटेको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलियालगायतका सबस्टेशन सञ्चालनमा आइसकेको प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयले जनाएको छ ।
चालू आवभित्रै कूल छ सय सर्किट किलोमिटर प्रसारण लाइन र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुनेछन् । प्राधिकरणले पछिल्लो एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण सम्पन्न गरेको छ ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागिसमेत नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेशन बनाउनेलगायतका काम गरिरहेको छ ।
यस्तै प्राधिकरणले हालै मात्र त्रिशूली–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइन र १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस