Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी संस्थामै २५ करोड अपचलन

मिलन खड्का

सोमबार, १३ जेठ २०७६, ०८ : १० मा प्रकाशित

सहकारी संस्थामै २५ करोड अपचलन

अर्थ संसार,बाँके- नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । 

ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड  अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ । 

बचत रकम झिक्न नपाएपछि ग्राहकले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराइदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको रु ३० लाखसम्म बचत रहेको छ । 

बचतकर्ता अशोककुमार ठटेरले आफूले मेहनत गरेर दुई वर्ष लगाएर बचत गरेको रु दुई लाख झिक्न नपाएको गुनासो गर्नुभयो । ठटेरले भन्नुभयो, “शुक्रबार जाँदा आइतबार आउन भने, आइतबार जाँदा बैंकमै ताला लागेको थियो । अब हाम्रो पैसा दिने ग्यारेन्टी कसले गर्छ ?” 

त्यस्तै १५ वर्षदेखि रकम जम्मा गर्दै आएकी चाँदआरा दर्जीले पनि आफ्नो करीब रु १४ लाख बचत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त आफ्नै घरजस्तो मान्थ्यौँ । पैसा झिक्न आएको त बैंकमा पैसा नै छैन । जहिले आए पनि आज आउ, भोलि आउ मात्र भन्थे । अहिले त सबै कर्मचारी नै भागेको भन्ने सुनेँ । हामी समस्यामा परेका छौँ ।” 

सहकारी वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका अध्यक्ष हरदेव बक्स चौधरीले चाँडै नै ग्राहकलाई आंशिक भुक्तानी भए पनि दिने तयारी भइरहेको बताउनुभयो । अपचलन गर्ने कर्मचारीको पहिचान भइसकेको र उनीहरुले रकम तिर्ने कबुलियत गरेको पनि सञ्चालक समिति अध्यक्ष चौधरीको भनाइ छ । 

उहाँले अपचलनमा संलग्नता स्वीकारेका कर्मचारीविरुद्ध प्रहरीमा जाहेरी दिइएको पनि बताउनुभयो तर कुन, कुन कर्मचारीले रकम अपचलन गरेका हुन् भन्नेबारे भने अध्यक्ष चौधरीले खुलाउनुभएन । को–को संलग्न छन् भन्ने थप अनुसन्धान गरेपछि स्पष्ट हुने उहाँको भनाइ थियो ।

कर्मचारीबाट अपचलन भएको संस्थाको रकम र सोसम्बन्धी पूर्ण अध्ययन गर्न अझै कम्तीमा १५ दिन लाग्ने भन्दै सञ्चालक समितिको शनिबारको बोर्ड बैठकले २६ गतेसम्म बैंकिङ कारोवार स्थगन गर्ने निर्णय गरेको छ । संस्थाले ग्राहकको रकम संस्थामा सुनिश्चित रहेको र संस्थाको आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष चौधरीलाई बचतकर्ताको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अपचलनमा संलग्न भनिएका कर्मचारीको खोजी भइरहेको र सञ्चालक समितिका सदस्यलाई बोलाएर घटनाबारे बुझ्ने तयारी भइरहेको पनि बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो । २०५१ सालमा स्थापना भएको यो सहकारी वित्तीय संस्था लिमिटेडका तीन हजारभन्दा बढी ग्राहक छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको