Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा चिनियाँ हस्तक्षेप हुँदा नेपालीहरु किन बोल्दैनन् ?

मिलन खड्का

मंगलबार, १४ जेठ २०७६, ०७ : १७ मा प्रकाशित

नेपालमा चिनियाँ हस्तक्षेप हुँदा नेपालीहरु किन बोल्दैनन् ?

अर्थ संसार, नयाँ दिल्ली- नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारततर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन् । 

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जतिसक्दो चाँडो नेपालमा भारतीय रेल पुर्याउने बताएका हुन् । उनले भने, हामी जतिसक्दो चाँडै काठमाडौंसम्म भारतीय रेल पुर्याउँछौं । त्यसको लागि मैले पनि स्वयम मोदीजीसँग कुरा गरेको छु । 

कोश्यारीले नेपालमा चिनियाँ रेल आउने कुरा कल्पनामात्रै भएको टिप्पणी गरे । फरक प्रसँगमा उनले आफूहरु सम्मिलित ईपिजीले तयार पारेको प्रतिवेदन भारत सरकारले छिट्टै ग्रहण गर्ने सुनाए । उनले भने,“यो प्रतिवेदन भारत सरकारले बुझ्छ, त्यहीअनुसारको अहिले गृहकार्य भैरहेको छ । भारतमा नयाँ विदेशमन्त्री आएपछि म कुरा गर्छु । प्रतिवेदनले नेपाल भारत सम्बन्धका सबैखाले विषयवस्तु र समस्याहरुको सम्बोधन गर्छ । मोदीले प्रतिवेदन बुझ्ने कुरामा मलाई पूरापुर विश्वास छ ।”

प्रतिवेदनलाई लिएर भारतको कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले दाबी गरे । “१९५० को सन्धिदेखि कालापानी सिमा विवादसम्मका कुरा हामीले प्रतिवेदनमार्फत अघि समाधानको उपाय सारेका छौं”उनले भने,“यी सबै विषयमा हामीले सहमति खोजेका छौं । प्रतिवेदनमा सबै कुरा समेटेका छौं ।”

भारत र बंगलादेशबीच विगतमा रहेका सबैखाले समस्याहरु तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बडो कुशलताका साथ समाधान गरेझैं नेपाल र भारतबीच रहेका सबै समस्याहरु समाधान हुने उनको विश्वास छ । 

कोश्यारीले मोदीलाई नेपाल र नेपालीहरुको हृदयमा बस्न सफल राजनेताको संज्ञा दिए । उनले भने,“उहाँले नेपालीहरुको हृदय जित्नुभएको छ । अब केही बाँकी रहेका सानातिना समस्याहरुपनि उहाँले हल गर्नुहुन्छ भन्नेमा हामी ढुक्क छौं ।” मोदीले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा आमूल सुधार गरेर चमत्कार नै गर्ने पनि उनले दाबी गरे । 

त्यस्तै उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले मिलेर नै काम गर्नेपनि जनाए । उनले भने,“उहाँहरुबीच एकदमै राम्रो सम्बन्ध छ ।” 
नेपाल धार्मिक रुपमा पनि उतिकै महत्व देश भएकोले यहाँ धर्मको आस्था, विश्वास, महत्व र प्रभाव रहेको पनि उनले सुनाए । उनले भने,“नेपालमा कुन धर्म मान्ने या नमान्ने, कस्तो धर्म राख्ने भन्ने कुरा यो स्वयम नेपाल र नेपालीहरुले तय गर्ने कुरा हो । यसमा भारतले कुनै चासो राख्दैन् । हामी हस्तक्षेप गर्ने पक्षमा छैनौं ।”

चीनले नेपालमा हस्तक्षेप गर्दा नेपालीहरु कसैले पनि त्यसको विरुद्धमा बोल्न नसकेको पनि उनले गम्भिर आरोप लगाए । कोश्यारीले थपे,“चीन, युरोपियनलगायतले नेपालमा खुलेआम हस्तक्षेप गर्दा कोही पनि नेपालीहरु बोल्नै सक्दैनन् । तर, भारतसँग यति घनिष्ठ सम्बन्ध हुँदापनि जहिल्यैपनि विरोध गर्ने गरिएको छ ।”

नेपाल र भारत दुई दाजुभाईकोजस्तो सम्बन्ध रहेकोले कहिलेकाहीँ समस्या आउनु स्वभाविक भएको पनि उनले टिप्पणी गरे । नेपालले अब सडक, पूर्वाधारलगायतको विषयमा द्रुत गतिमा काम गर्नुपर्ने पनि कोश्यारीले सुझाए । नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले यसमा भारतको पूर्ण साथ र सहयोग रहनेपनि उनले विश्वास दिलाए । 

उनले भने,“नेपालले अब एक वर्षमा गर्ने कामहरु ६ महिनाभित्रै गर्नुपर्छ । कामको गति बढाउनुपर्छ । भारतमा मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । अब नेपाल र भारतबीचको सम्बन्ध समृद्धिको लागि पनि सहकार्य गरेर अघि बढ्ने आएको छ ।” 

नेता कोश्यारीले भारतमा मोदी प्रधानमन्त्री बन्दा विश्वभरि नै खुशियाली छाएकोले नेपालपनि खुशी रहेको सुनाए । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको