Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको हाहाकार

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १४ : १४ मा प्रकाशित

पेट्रोलियम पदार्थको हाहाकार

अर्थ संसार, काठमाडौं- पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।

झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो । तर पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले अनलाइन प्रणालीमा गडबडी भएको भन्दै तेलका ट्याङ्कर हप्तौँसम्म रोक्न थालेको छ । इन्धन जस्तो संवेदनशील वस्तुको हाहाकार भएपछि सर्वसाधारणमा परेको समस्यालाई तत्काल हटाउन नेपाल आयल निगमको चारआली शाखा कार्यालयले विराटनगरस्थित निगमको प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ ल्याउन निगमका बिक्रेता एवं व्यवसायीलाई आग्रह गरेको छ ।

शाखाका प्रमुख सनम कार्कीले बुधबार विज्ञप्ति नै जारी गरेर नियमित आपूर्ति चाँडै गराउन निगम प्रयत्नशील रहेको जानकारी गराउँदै ताप्लेजुङ, पाँचथर, इलाम र झापास्थित निगमका बिक्रेतालाई आवश्यक पेट्रोलियम पदार्थ निगमको प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरबाट उपलब्ध गराइने उल्लेख गरे । पेट्रोलियम व्यवसायीलाई उनले चाहिएजति इन्धनको मूल्य भुक्तानीको बैंक भौचर शाखा कार्यालयमा बुझाएपछि मागबमोजिमको पेट्रोलियम पदार्थ उपलब्ध गराइने उल्लेख गरे।  साविक मेची अञ्चलका चार जिल्लामा दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ । भारतबाट तेल नआएपछि यी जिल्लाका पेट्रोल पम्प  स्वतः बन्द भएका छन् । मेची पेट्रोलियम व्यवसायी एसोसिएसनका अध्यक्ष मार्स प्रसाईंले प्रादेशिक कार्यालय विराटनगरबाट पेट्रोलियम पदार्थ लिन सकिने जानकारीसहितको पत्र बुधबार पठाएको र त्यो प्रक्रियाबाट इन्धन ढुवानी गर्दा महङ्गो पर्ने बताए ।

अध्यक्ष प्रसाईंले विराटनगरबाट लकिङ गरेका ट्याङ्कर नआउने हुँदा क्वालिटी र क्वान्टीटी दुवैमा ग्यारेन्टी नहुने दाबी गरे । निगमले पेट्रोलियम व्यवसायीलाई १५ किलोमिटरसम्म एक हजार लिटरको रु ३१६ भाडाको मापदण्ड बनाएको बताउँदै उनले विराटनगरबाट ल्याउँदा रु एक हजार ९९ लाग्ने बताए । उनले निगम आफैलेनै प्रादेशिक कार्यालयबाट लकसहितका ट्याङ्कर ल्याएर चारआली डिपोमार्फत व्यवसायीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको