Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर-जडीबुटी बाटोको गति निर्धारण, अटेर गरे कारवाही

मिलन खड्का

मंगलबार, २८ जेठ २०७६, १३ : २९ मा प्रकाशित

भक्तपुर-जडीबुटी बाटोको गति निर्धारण, अटेर गरे कारवाही

अर्थ संसार, भक्तपुर- महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ ।

प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी सवारीको गति निर्धारण गरेको बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै कारवाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजैदेखि यो नियम लागू गरेका छौ, आजबाट गति मापन गर्नेछौँ, शुरुमा केही दिन सवारी चालकलाई सम्झाउने छौ, असार १ गतेदेखि भने कारवाही अगाडि बढाउने छौ।”

दुर्घटना न्यूनीकरणका लागि जडीबुटी मनोहरापुलदेखि मध्यपुरथिमि, सूर्यविनायक, जगाती, पलासे हुँदै  काभ्रे र भक्तपुरको सिमाना साँगासम्मका लागि गति निर्धारण गरिएको हो ।  

प्रतिघण्टा २० किलोमिटरको गतिमा गुडेका सवारी साधनले ठक्कर नै दिए पनि मानवीय क्षति नहुने गरेको पाइएको तर तीव्र गतिमा चल्ने सवारी साधनले ठक्कर दिए ज्यानै जाने गरी मानवीय क्षति हुने गरेकाले गति सीमित गर्न यो नियम लागू गरेको उहाँको भनाइ थियो । 

सडक, यातायात र विभिन्न सरोकारवाला निकायसँगको छलफल र सहमतिमा यो नियम लागू गरेको उहाँले बताउनुभयो । सवारी साधनको गति मापनका लागि प्रहरीले एक राडार गन र एक लेजर गन ल्याएर परीक्षण गरिसकेको बताउँदै उहाँले यो सडकखण्डमा कुनै पनि बेला कुनै पनि ठाउँबाट सवारीको गति नाप्ने बताउनुभयो । 

नियमलाई अटेर गरी तीव्र गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक अनुमतिपत्र, ‘रुट परमिट’ रद्द गर्नेदेखि यातायात सञ्चालन अनुमतिपत्रसमेत रद्द गर्न सकिने गरी कारवाही गरिने प्रधानले बताउनुभयो ।  

यो नियम लागू भएपछि दुर्घटना न्यूनीकरण हुनुको साथै ज्यानै जाने गरी सवारी दुर्घटना नहुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले यो नियमलाई कडाइसाथ लागू गरिने बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको