Like us!
Follow us!
Connect us!
Watch us!

कोटेश्वर–जडिबुटी सडकखण्डमा सबैभन्दा बढी जाम, विकल्प अण्डरपास कि फ्लाइओभर ?

कमला भुसाल

विहीबार, १२ असार २०७६, १४ : ३७ मा प्रकाशित

कोटेश्वर–जडिबुटी सडकखण्डमा सबैभन्दा बढी जाम, विकल्प अण्डरपास कि फ्लाइओभर ?

कमला भुसाल

अर्थ संसार, काठमाडौं– कोटेश्वर–जडिबुटी सडकखण्ड अहिले उपत्यकाकै सबैभन्दा बढी जाम हुने सडकखण्ड भनेर चिनिएको छ । कोटेश्वर सडकखण्ड ६ लेनकोे भए पनि कोटेश्वरबाट सुरु भएको जाम दैनिक जडिबुटीबाट हुँदै भक्तपुरको गठ्ठाघरसम्म पुग्ने गरेको छ । त्यस्तै यता पेप्सिकोला–काँडाघारी तर्फकोे पनि पेप्सिसम्म अव्यवस्थित जाम हुने गरेको छ ।

सडक विभागले कोटेश्वर खण्डको जामलाई कम गर्न र नियन्त्रण गर्नका लागि भक्तपुरबाट कोटेश्वरको बाटो हुँदै ललितपुर जाने साना सवारीसाधनलाई मनोहरा करिडोर डाईभर्सन प्रयोग गर्न निर्देशन दिए पनि अझै जाम कम हुन सकेको छैन ।

कोटेश्वर चोकमा हुने सवारी जाम कम गर्न सडक विभागले मनोहरा करिडोरको डाईभर्सन दुई महिना  अघि सञ्चालनमा ल्याएको सडक विभागका सूचना अधिकारी उज्वल सुवालले जानकारी दिए ।

सकारले काठमाडौं उपत्यकामा सबैभन्दा धेरै जाम हुने कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै आगामी आर्थिक वर्षमा जाम नियन्त्रणका लागि कोटेश्वर सडकखण्डमा अण्डरपास निर्माण गर्ने कि फ्लाइओभर निर्माण गर्नेे बारे भने निर्णय हुन बाँकी रहेको सूचना अधिकारी सुवालले बताए ।

जडिबुटी–कोटेश्वर हुँदै आवतजावत गर्ने यात्रु दैनिक आधा घण्टादेखि डेढ घण्टासम्म ट्राफिक जाममा पर्छन् । दैनिक घण्टौंसम्म जाम हुने यस सडकमा पैदल हिँड्ने यात्रुलाई समेत असर परेको छ । 

भक्तपुरदेखि कोटेश्वरतर्फ आउने पैदल यात्रुलाई हिँडने बाटोमा समेत सवारी साधन आवतजावत गरिँदा पैदल यात्रुलाई समस्या भएको लोकन्थली बस्ने डिलाराम पौडेलले बताए । उनी भन्छन,‘सडक ठुलो भएपनि पैदल यात्रु हिँडने बाटो नै कब्जा गरेर सवारी साधन गुडाउँदा पैदल यात्रु कहाँबाट हिड्ने ?’ । यस्तै साना–साना सवारी साधनले पैदल यात्रुको बाटोबाट सवारी साधन गुड्दा यात्रुहरुलाई पनि अप्ठ्यारो परेको पैदल यात्रुहरुको गुनासो छ । 

यस्तै समस्या जडिबुटी पेप्सिकोला–काँडाघारी सडकखण्डका यात्रुले पनि भोगेका छन् । यस सडकमा ट्राफिकको आँखा सिधै नपर्ने  र जडिबुटी चोकमा बाहेक अरु ठाउँमा ट्राफिक नबस्ने हुँदा साना सवारी साधनको मनपरी भएको यात्रुहरुको गुनासो छ । 

कार्यालय समयमा अत्याधिक ट्राफिक जाम र अव्यवस्थित रुपमा साना सवारी साधनको मनपरी गुडाइका कारण हिँडदै जाने यात्रुलाई पनि असहज भएको काँडाघारी बस्ने लक्ष्मी खनाल बताउँछिन । उनी भन्छिन्, ‘जाम त जाम नै  भैगो गाडी चढ्दा समय बढी लागेर  हिँडन खोज्दा पैदल हिँड्ने बाटो नै पाईँदैन ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको