निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई ‘स्थानहद निर्धारण’ गरी राहदानी रोक्का गरेको निर्णयबारे कुनै जानकारी नदिएको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार सरकारका तर्फबाट उक्त निर्णय सम्बन्धी कुनै लिखित वा मौखिक सूचना नआएको स्पष्ट पारेका हुन्।
‘मलाई आजसम्म सरकारको वा सरकारको कुनै पनि निकायले लिखित रूपमा या मौखिक रूपमा स्थानहद गरेको या पासपोर्ट रोक्का गरेको जानकारी दिएको छैन, सूचना दिएको छैन, सोधेको छैन, किन रोक्का गर्ने किन नगर्ने भनेर,’ लेखकले भने, ‘कुन संविधान, कुन कानुन कुन ऐनको कुन प्रावधान बमोजिम के औचित्यका लागि के प्रयोजनका लागि, कति अवधिका लागि मलाई स्थान हद गरियो भन्ने कुरा मलाई जानकारी छैन ।’
उनका अनुसार करिब दुई महिना अघि वर्तमान सरकारले आफू र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकी राहदानी रोक्का गर्ने निर्णय गरेको जानकारी उनले समाचारमार्फतमात्र पाएका थिए।
पूर्वगृहमन्त्री लेखकले भने,‘निवर्तमान प्रधानमन्त्री र म लगायतलाई स्थान हद गरेको छ रे । अनि पासपोर्ट रोक्का गरिएको छ रे,म किन भन्दैछु भने सरकारले, सरकारका सम्बन्धित निकायले दुई महिना पहिला स्थान हद गर्ने र पासपोर्ट रोक्का गर्ने निर्णय गर्यो भनेर समाचारबाट सुनियो ।’
तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी आफूले नलिने स्पष्ट गरेका छन्। बैठकमा घटनाबारे ब्रिफिङ दिँदै उनले कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा निकायलाई सजग गराएको दाबी गरे।
लेखकले भनेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन । मैले क्याजुलिटी नहोस् भनेर २२ गते साँझ पनि मिटिङमा भनेको छु,दोस्रो दिन बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई क्याजुटिली नहोस् है । क्याजुलिटी कुनै पनि हालतमा हुनुहुन्न पटक–पटक भनेको छु । त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा व्यक्त पनि गर्नुभएको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस