Like us!
Follow us!
Connect us!
Watch us!

४ वर्षकी छोरीसँगै पढ्न जान्छिन् अरहुलिया

मिलन खड्का

सोमबार, २७ साउन २०७६, १४ : ४१ मा प्रकाशित

४ वर्षकी छोरीसँगै पढ्न जान्छिन् अरहुलिया

अर्थ संसार, लहान- पढ्ने रहरलाई न त उमेरले छेक्छ, न त कुनै समस्याले रोक्न सक्छ, इच्छाशक्ति भए जसरी पनि पढ्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छिन्, सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरकी अरहुलिया देवी सदा । आर्थिक अभाव र अशिक्षाका कारण १५ वर्षकै उमेरमा विवाह गरेर घरजम गरेकी अरहुलिया अहिले ४ वर्षकी छोरीसँगै ७ वर्षपछि पढ्न विद्यालय फर्केकी छिन् ।

परिवारको दबाबमा करीब ५ वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी अरहुलिया २० वर्षको उमेरमा अहिले ४ वर्ष र ३ वर्षको दुई सन्तानकी आमा बनेकी छिन् । विवाह भएपछि बीचमै पढाइ छाडेर पतिसँगै गाउँकै साहुको खेतबारीमा मजदूरी गरी पाँच जनाको परिवार पाल्दैआएकी अरहुलिया ७ वर्ष पछि पुनः विद्यालय फर्किएपछि सबै आश्चर्यमा परेका छन् । 

पढ्ने रहर हुँदाहुँदै घरायसी समस्याले वाधा उत्पन्न गरेपछि  विद्यालय बीचमै छाडेकी अरहुलिया स्थानीय मदन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै आएकी छिन् । बिहान घरको काम सकेर आफ्नीे ४ वर्षीया छोरी र टोलबस्तीका बालबालिकाहरुसँगै अरहुलिया नियमित विद्यालय जाने गरेकी छिन् ।

मजदुरी गरी परिवारको गुजारा चलाउने कार्यलाई नै जीवनको अन्तिम लक्ष्य बनाइसकेकी अरहुलियामा पुनः पढ्ने सोच एकाएक  आएको होइन, दि फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाँउमै ट्युसन कक्षा चलाएपछि आएको हो । 

“सानै उमेरमा विवाह भएपछि मैले पढाइको रहर नै त्यागिसकेको थिएँ,” अरहुलिया भन्छिन् – “तर, विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्य गरी गाउँमै ट्युसन कक्षा चलेपछि आफूमा पुनः पढ्ने रहर पलायो । पढ्ने उमेर गइसकेकाले अब पढ्न पाइँदैन कि भन्ने मनमा केही सङ्कोच थियो तर, यही कार्यक्रमको बीच बीचमा हुने सहजीकरणहरुको माध्यमबाट विद्यालयमा पुनः फर्किन पाएँ ।”  

शुरु शुरुमा गाउँका केही महिला र पुरुषहरु ‘बुरिहीया कनियाँ पढैछैं’ (बुढी भइसकेकी दुलही पढ्छ) भन्दै हेप्ने र जिस्काउने गरेका उनी बताउँछिन् । अरहुलिया भन्छिन् – “एक त गरीब परिवार, त्यसमा पनि अशिक्षित रहेकाले विद्यालय त के घरमै पढ्ने अवस्था थिएन । हरवाचरवा लक्ष्यित त्यो कार्यक्रमले ती चुनौतीका पहाडहरुलाई विस्तारै सहज बनाइदिएको हो ।” छोराछोरीलाई स्याहार्नुपर्ने, परिवारको गुजारा चलाउनुपर्ने जिम्मेवारीमा छँदाछँदै  श्रीपुर्राजले हरवाचरवा परिवारका लागि चलाएको कार्यक्रमले आफूमा मात्र होइन, सिङ्गो बस्तीमै यस्तो परिवर्तन आएको उनी ठान्छिन् । 

कुनै बेला छोराछोरीहरुलाई पढाएर के हुन्छ ? भन्ने गरेका टोलबस्तीका व्यक्तिहरुको सोच अहिले परिवर्तन भएको छ र आफ्ना बालबालिकाहरुलाई नियमित विद्यालय पठाउन थालेका छन् ।  सप्तरीको शम्भुनाथ नगरपालिका–४ कचन्दाहा माइती रहेकी अरहुलिया विवाह पूर्व त्यहीको बौधीदेवी दलित जनता प्राविमा कक्षा ५ सम्मको अध्ययन गरेकी थिइन । विवाहपछि आफ्ना पति शिवकुमार सदा र ससुरा कोकाई सदासँगै स्थानीय साहु झबरी भगतमा हरवाचरवाको रुपमा काम गर्दैआएकी अरहुलियाको अहिले दिनचर्या समेत फेरिएको छ । 

“नियमित जसो स्कुल जान्छु,” अरहुलिया भन्नुहुन्छ – “स्कुलमा विदा भएका दिन मजदूरीमा जान्छु । बाँकी दिन घरको काम र पढाइमै बिताइरहेकी छु ।” आफ्नो पढाइमा श्रीमान् र ससुरासँगै सिङ्गो परिवार र टोलबस्तीकै सहयोग रहेकाले थप हौसला मिलेको अनुभव अरहुलिया सुनाउँछिन् ।

“शुरु शुरुमा आफ्नी श्रीमती अरहुलिया पढ्न जान्छु भन्दा आफूलाई लाज लाग्थ्यो,” अरहुलियाका श्रीमान् शिवकुमार भन्छन् – “तर, अब श्रीमतीले विभिन्न बैठकसँगै स्कुलबाट धेरै कुराहरु सिकेकी छिन् । मैले लेबर कुल्लीमा काम गरेर पनि श्रीमतीलाई सहयोग गरिरहेको छु ।” 

कुनै समय कार्यक्रमहरुमा बस्न र बोल्न लजाउने गरेकी अरहुलिया यतिबेला टोलकै अगुवा महिलाको रुपमा समेत देखापरेकी छन् । अरहुलियाले बस्तीकै महिला र पुरुषहरुलाई समेटेर हरवाचरवा अधिकार मञ्च र बचत समूह पनि बनाएकी छिन् । उनले समूहको बैठक बस्दा म्याइन्युुट लेख्नेदेखि दलित बस्तीमा विकास निर्माणमा समेत नेतृत्वदायी भूमिका खेलिरहेको स्थानीयवासी सुकदेव सदा बताए । उनले भने – “अरहुलियामा आएको परिवर्तनले सिङ्गो बस्तीमै परिवर्तन आएको छ ।” अरहुलियालाई हामीले एउटा बुहारी मात्रै होइन, छोरीकै रुपमा पाएका छौ । उनकै सहयोगमा बस्तीले परिवर्तनको अनुभूति गरिरहेको छ ।”

“हरवाचरवाहरु अझै कष्टपूर्ण जीवन बिताइरहेका छन्, निरक्षर छन्, उनीहरुलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिरहेका छौं,” श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले भन्नुभयो – ‘‘यही कार्यक्रमबाट अरहुलिया मात्र होइन सिङ्गो बस्तीमै परिवर्तन आएको देखिएको छ ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको