अर्थ संसार, काठमाडौँ- के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् ।
अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ ।
मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि आग्रह गरेको छ ।
कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो ।
एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् ।
एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ ।
कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन् । हाल काठमाडौँ महानगरपालिकामा करीब ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस