Like us!
Follow us!
Connect us!
Watch us!

मेची–महाकाली अभियानको तयारी तिव्र पार्दै नेकपा एमाले

विहीबार, ०५ फागुन २०७३, ११ : २१ मा प्रकाशित

मेची–महाकाली अभियानको तयारी तिव्र पार्दै नेकपा एमाले

अर्थ संसार 
काठमाडौ– दोस्रो ठूलो पार्टी नेकपा एमालेले आगामी २१ फागुनबाट सुरु हुने तराईकेन्द्रित मेची–महाकाली अभियानको तयारी तीव्र बनाएको छ । तराईका जिल्ला समेटिएका सबै प्रदेश र जिल्ला कमिटीहरूको बैठकमार्फत एमालेले अभियानको तयारी तीव्र बनाएको हो ।

मधेसकेन्द्रित दलले संविधान संशोधनमा अबरोध गरेर तराई–मधेसविरोधी चरित्र देखाएको आरोप एमालेमाथि लगाइरहेका बेला तराईकै ६ वटा मातृभाषामा अपिललगायतका प्रचार सामग्री लिएर अभियान सञ्चालन गर्ने एमालेको योजना छ ।

५ चैतसम्म १५ दिन चल्ने सो अभियानमा झापादेखि कञ्चनपुर हुँदै सुर्खेतसम्मका २० जिल्लामा ३३ वटा ठूला प्रकृतिका आमसभा सम्पन्न हुनेछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै शीर्ष नेताहरू, तराई–मधेसका सबै मधेसी समुदायका नेता तथा सांसद र भ्रातृ संगठनहरू अभियानमा परिचालित हुनेछन् ।

उनीहरूसहित एमाले कार्यकर्ताले नेपाली, मैथिली, अवधि, थारू, भोजपुरी र डोट्याल भाषामा अपिल बाँडेर आमसभाका लागि व्यापक प्रचार गर्नेछन् । गत १ मंसिरदेखि चारमहिने राष्ट्रिय जागरण अभियान चलाइरहेको एमालेले तराईकेन्द्रित अभियानलाई त्यसैको उत्कर्ष रूप हुने जनाएको छ ।

अभियानमा कम्तीमा पनि १५ लाख जनताले प्रत्यक्ष सहभागिता जनाउने एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।काँकडभिट्टामा अध्यक्ष ओलीले अभियानको उद्घाटन गरेकै दिन एमालेले झापाको बिर्तामोड र दमकमा जनसभा गर्नेछ । 

त्यसपछि क्रमशः विराटचोक, इटहरी, इनरुवा, राजविराज, कञ्चनपुर, गोलबजार, जनकपुर र बर्दिबासमा जनसभाका कार्यक्रम हुनेछ । त्यस्तै, हरिपुर, गरुडा, चन्द्रनिगाहपुर, जितपुर, हेटौंडा, भण्डारा, भरतपुर, कावासोती, भूमही, भैरहवा र बुटवलमा आमसभा हुने जनाइएको छ ।

त्यस्तै, चन्द्रौटा, लमही, घोराही, नेपालगन्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी, महेन्द्रनगरसम्म जनसभा सकिएपछि सुर्खेतमा क्षेत्रीय स्तरको ठूलो आमसभा हुने एमालेले जनाएको छ ।

मधेसमै होली र सम्मानका कार्यक्रम
एमालेले अभियानको सिलसिलामा सयौं ज्येष्ठ नागरिक, सामाजिक रूपमा योगदान पु¥याएका समाजसेवी, तराई र पहाडबीचको एकता र सामाजिक सद्भावका पक्षमा योगदान गर्ने अभियन्ताहरूलाई सम्मान र तराईमा बोलिने भाषा र वेशभूषा झल्काउने संस्कृतिमा सांस्कृतिक कार्यक्रम पनि राखेको छ ।

त्यस्तै, अभियानका क्रममा पर्ने राष्ट्रिय पर्व होली, नारी दिवसलगायतका सबै कार्यक्रम तराई अभियानमै मनाइने पनि एमालेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको