Like us!
Follow us!
Connect us!
Watch us!

पीपीपी मोडल तिब्र आर्थिक विकासको प्रभावकारी उपकरण

अर्थ संसार

शुक्रबार, २७ भदौ २०७६, १० : ३७ मा प्रकाशित

पीपीपी मोडल तिब्र आर्थिक विकासको प्रभावकारी उपकरण

अर्थ संसार, काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी (पीपीपी)  मोडल तिब्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण भएको बताउनुभएको छ । नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिनको समृद्धिका लागि सार्वजनिक निजी साझेदार विषयक सत्रमा उहाँले ऊर्जाका परियोजनाका लागि पीपीपी उपयुक्त मोडल हुने बताउनुभयो ।

देशले प्राप्त गरेको राजनैतिक उपलब्धी संस्थागत गर्न आर्थिक क्रान्ति सफल हुनुपर्ने भन्दै उहाँले पूर्वाधारको क्षेत्रमा हुने निजी लगानीमा जोखिम मात्र नभइ मुनाफाको आकर्षण समेत रहेको तर्क गर्नुभयो ।

सही नेतृत्व दिन उपयुक्त नीति बनाउन सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले निजी क्षेत्रलाई निर्धक्क लगानी गर्न आग्रह गर्नुभयो । मन्त्री पुनले गत वर्ष देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ३४ खर्ब रुपैयाँ पुगेको र बचत गर्ने बानीसमेत विकास भएको तथ्य प्रस्तुत गर्दै लगानी योग्य आन्तरिक पुँजी ८ खर्बभन्दा बढी पुगेको जानकारी दिनुभयो । आगामी ३ वर्षमा जीडीपी ५३ खर्ब पुग्ने र आन्तरिक लगानीयोग्य पुँजीसमेत वृद्धि भइ १५ खर्ब नाध्ने सम्भावना रहेको बताउनुभयो ।

 मन्त्री पुनले ऊर्जा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न तत्पर रहने बताउदै निर्माण सम्पन्न भएका आयोजना सञ्चालन योग्य बनाउन सरकार लागि परेको बताउनुभयो । उहाँले नेपालीहरु नै अघि बढेर विकासको बाटोमा अग्रसर हुनुपर्ने भन्दै निजी क्षेत्रलाई लगानी वृद्धि गर्न आग्रह गर्नुभयो ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले देश विकासको लागि पीपीपी मुख्य औजार हुने बताउनुभयो । यस मोडलले आर्थिक सामाजिक रुपान्तरणका लागि धेरै फाइदाजनक हुने उल्लेख गर्नुभयो । पूर्वाधार विकासमा निजी क्षेत्रको वास्तविक सहभागिताको आवश्यकता औल्याउनुभयो । सरकारको ध्यान आर्थिक रुपान्तरणमा केन्द्रित रहेको भन्दै पीपीपी ऐन पारित लगानीकर्ताको लागि उपयुक्त वातावरण बन्ने बताउनुभयो । ऊर्जाका व्यापारको महत्वाकाक्षी लक्ष्य प्राप्ति गर्न निजी लगानी आवश्यक रहने र त्यसको मोडालिटी पीपीपी नै हुने बताउनुभयो ।

गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्वदेशी लगानीले नै विदेशी लगानी आकर्षित गर्नेभन्दै निजी क्षेत्रले अघि बढेर त्यसको नेतृत्व लिनुपर्ने बताउनुभयो । वस्तु वा सेवा आयात गरेर मात्र देश बन्न नसक्ने तर्क गर्दै उत्पादकत्व बढाउनतिर ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । नेपालको स्वास्थ्य क्षेत्र लगानीको लागि सबैभन्दा आकर्षक क्षेत्र रहेको दाबी गर्नुभयो । ‘अस्थिरतामा ठूलो लगानी आउन सक्दैन, त्यसैले नीतिगत स्थायित्व र सरकार र निजी क्षेत्रबीच आपसी समझदारी  हुनुपर्छ ।’

नेपाल उद्योग वणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले ऊर्जाका आयोजना निर्माणमा सहमति हुने तर कार्यान्वयन नहुने गरेको बताउनुभयो । लगानीको लागि विश्वासको वातावरण बनाउन नीतिगत स्थायित्व चाहिनेमा जोड दिनुभयो । पीपीपी विश्वभर सफल मोडल रहेको र नेपाल पनि प्रभावकारी कार्यान्वयन गरिएको खण्डमा सफल हुने बताउनुभयो । सडक, वातावरण, विमानस्थल, रोपवे लगायतका आयोजनालाई पीपीपी उपयुक्त मोडल हुने सुझाव दिनुभयो ।

गैरआवासिय नेपाली संघका अध्यक्ष भवन भट्टले संघले स्थापना गरेको सामुहिक लगानी कोषले नयाँ मोडालिटीमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘नेपालमा थुप्रै अवसर छन, नीति परिमार्जन गर्न आवश्यक छ’ उहाँले भन्नुभयो । फ्रोस्ट एण्ड सुल्लीभानका वरिष्ठ उपाध्यक्ष संजय सिंहले सरकारवालाहरु एकजुट भए विकासका सबै काम गर्न सम्भव हुने बताउनुभयो ।

आइएफसी मुख्य लगानी अधिकृत मोज्जाम मेकनले पीपीपीको स्पष्ट रणनीति , आर्थिक विष्लेषण, नीतिगत स्थायित्वलगायतका विषय प्रष्टता भए निजी लगानी आकर्षित हुने बताउनुभयो ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको