अर्थ संसार- महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक साताअघि रातिको बेला करीब ७ बजेको समयमा गाउँभन्दा दक्षिण खुलामा शौच गर्नका लागि गएकी सो किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
किशोरीलाई एक्लै देखेर चार युवाहरु उनलाई पक्रेर मुख थुन्दै धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । पालैपालो चारै जनाले बलात्कार गरेपछि किशोरी अर्धबेहोस भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा बस्तीमा पुग्दा स्थानीय तथा आफन्तले उनलाई सोधेपछि घटनाबारे सविस्तार बताएकी थिइन् । किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई आफन्त नै रहेको र आफूले चिनेको तथा दुई बाहिरी युवाहरु रहेको बताएकी छिन् ।
यता प्रहरीले अनुसन्धान गर्दा किशोरीलाई बलात्कार गर्ने चारै जना युवाहरु घटना घटाएर भारतको मुम्बई भागेको जनाएको छ । तर प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र उनीहरुको व्यापकरूपमा खोजतलास भइरहेको तथा उनीहरुलाई चाँडै पक्राउ पर्ने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । भारतीय मजदुरको मृत्यु महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर बजारमा बिहीबार साँझ प्लाइले किचिएर एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत भिट्ठा गाउँपञ्चायत बस्ने ४५ वर्षीय महेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
जलेश्वर नपा–२ मा अवस्थित सचिन ट्रेडर्समा काम गर्दै आएका भारतीय मजदुर साह सोही टे«डर्सको प्लाइको गोदामबाट प्लाइ झिकिरहेको बेला छातिमाथि एक्कासी सात प्लाइ झरेर उनको छाति किचिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । छातिमाथि नै ४०/४० किलोको सात प्लाइ एक्कासी झर्दा किचिएर गम्भीर घाइते भएका मजदुर साहलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक भारतीय मजदुर साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ भने प्रहरीले सचिन ट्रेडर्सका सञ्चालक लक्ष्मण साहलाई नियन्त्रणमा लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस