नियामकिय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ लघुवित्तलाई कारवाही गरेको छ। राष्ट्र बैंक कारवाहीमा परेका ६ लघुवित्त मध्ये ५ वटा शिघ्र सुधारात्मक कारवाहीमा परेका छन् ।
शिघ्र सुधारात्मक कारवाहीमा पर्ने संस्थाहरूमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र सीवाईसी नेपाल लघुवित्त रहेका छन्।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२ को असार मसान्तसम्ममा आरम्भ चौतारीको पुँजीकोष अनुपात ७.७७ प्रतिशत, सामुदायिक लघुवित्तको ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ६.०१ प्रतिशत र सीवाईसी लघुवित्तको ६.२० प्रतिशत मात्र रहेको थियो भने गणपति लघुवित्तको २०८२ असोज मसान्तमा यस्तो अनुपात ६.०६ प्रतिशत मात्र पाइएको थियो।
यी संस्थाहरूको पुँजीकोष अनुपात तोकिएको मापदण्डभन्दा कम देखिएकाले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम राष्ट्र बैंकले यी संस्थाहरूमाथि उक्त कारवाही प्रक्रिया अघि बढाएको हो।
सो विनियमावलीको व्यवस्था बमोजिम अब राष्ट्र बैंकले कारवाहीमा परेका लघुवित्त संस्थाहरूको उच्च व्यवस्थापनसँग सुधारका कार्यहरूका लागि छलफल गर्नेछ र उक्त छलफलका विषयवस्तुलाई अभिलेखका रूपमा सुरक्षित राख्नेछ। यसका साथै राष्ट्र बैंकले यी संस्थाहरूसँग पुँजी वृद्धिको स्पष्ट योजना समेत माग गर्नेछ। यो कारवाही अन्तर्गत परेका लघुवित्तहरूले नगद लाभांश तथा बोनस शेयर घोषणा गर्न पाउने छैनन् भने नयाँ शाखा विस्तारमा पनि रोक लगाइनेछ। साथै यी संस्थाका सञ्चालकहरूको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनको तलब, भत्ता र सुविधा वृद्धि गर्न पनि पाउने छैनन्।
धौलागिरी लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तलाई अन्य भिन्न कसुरमा पनि कारवाही गरिएको छ। जसअन्तर्गत धौलागिरी लघुवित्तको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ। उक्त संस्थाले आफ्नो कर्मचारी सेवा विनियमावली, २०८० को विनियम ९५ मा रहेको 'सेवामा पुनः कायम गर्न सक्ने' व्यवस्थाको मर्म विपरित हुने गरी नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको पाइएको थियो। साथै, कुनै स्पष्ट आधार र कारण विना नै निज संस्थामा बहाल नरहेको अवधिको रकम समेत नियम विपरित भुक्तानी गरेको देखिएकाले अब उप्रान्त यस्ता कार्य नगर्न र नगराउनका लागि उक्त निर्णयमा संलग्न सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको हो। त्यस्तै सञ्चालक समितिले सवारी साधन खरीद गर्दा संस्थाको आर्थिक प्रशासन विनियमावलीमा भएको व्यवस्थाबमोजिम तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरेकोले राष्ट्र बैंकले सीवाई नेपाल लघुवित्तका सञ्चालक समितिलाई अब उप्रान्त यस प्रकारको कार्य नगर्न नगराउन सचेत गराएको छ।
नेरुडे मिर्मिरे लघुवित्तले कर्जा नोक्सानी व्यवस्था कायम गरेको रकम ८१.५५ करोड फिर्ता गरी आम्दानी जनाउँदा त्यसरी फिर्ता गरेको नोक्सानी व्यवस्था रकमको विवरण कुन कुन ऋणीको हो भन्ने यकिन नगरी आम्दानी लेखाङ्कन गरेको पाइएकोले राष्ट्र बैंकले अब उप्रान्त यस्तो कार्य नदोहोर्याउन संस्थाको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस