Like us!
Follow us!
Connect us!
Watch us!
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक, नेकपाले माफी माग्नुपर्छ : पूर्व मन्त्री साउद

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न सकिँदैन्, अनावश्यक हौवा नफैलाउन पौडेलको चेतावनी

मिलन खड्का

बुधबार, ०८ असोज २०७६, १८ : १६ मा प्रकाशित

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न सकिँदैन्, अनावश्यक हौवा नफैलाउन पौडेलको चेतावनी

अर्थ संसार, काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न नसकिने स्पष्ट पारेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । उनले भने,‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होईन, हुने छैन् र हुने कल्पना पनि गर्न सकिँदैन् । पञ्चशिल, असंलग्नता र राष्ट्रसंघको वडापत्रप्रति हामी प्रतिबद्ध छौं ।’ 

पौडेलले नेकपाको केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनमा काठमाडौँमा हिजो सम्पन्न भएको सी चिनफिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्नका लागि कार्यक्रम गरिएको स्पष्ट पारे । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले विचारधारात्मक छलफलको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले चाहिनेभन्दा धेरै हल्ला गरेको टिप्पणी गरे । उनले भने,‘साथीहरुले यो विषयमा यति धेरै हल्ला गरेर यस्तो मानसिकता बनाउनुहोला भन्ने लागेको थिएन । हामी तीन दिन छलफलमा सहभागी भयौं । विकास, संस्कृति र प्रविधिबारे धेरै कुरा सिक्ने अवसर मिल्यो । यो एकदमै राम्रो भयो ।’

नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर हौवा र संकेत गर्नु नै गलत भएको उनको भनाई छ । उनले भने,‘चिनियाँ मित्रहरुले भातृसंगठनको कुरै गर्नुभएको छैन् । सि जिनपिङको विचार तिमीहरुले मान्नुपर्छ भनेर उहाँहरुले एक रौं पनि भन्नुभएको छैन् । बरु, हामी कम्युनिष्टले बेलायत संसदीय अभ्यास पढेका छौं । सोही प्रणाली ८० प्रतिशत लागु गरेका छौं ।’

प्रेस स्वतन्त्रता, बालिक मताधिकार, शक्ति पृथकीकरणको सिद्धान्तलगायतका विषय आफूहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले नदिएको उनको भनाई छ । उनले भने,‘हामीले बेलायत, अमेरिका हुँदै लिएका हौं । यो त हामीले संविधानमा गरेको व्यवस्था हो । समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित्सहितको लोकतन्त्र छ ।’ 

नेता पौडेलले कांग्रेसका नेताहरुलाई वेष्ट मिनिस्टरियल प्रणाली अध्ययन गर्न पनि आग्रह गरे । उनले भने,‘तपाईहरु पश्चिमा प्रणाली अध्ययन गर्नुहोस । विपीले लेनिन पढ्नुभयो । रुस पढ्नभयो । प्रजातान्त्रिक समाजवाद उहाँले ल्याउनुभयो । मनमोहन अधिकारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा भाग लिन जानुहुन्थ्यो, नेकपाले आजमात्रै चीनसँग सम्बन्ध कायम गरेको होईन । कांग्रेसको पनि मित्रराष्ट्रसँग जहिल्यैपनि सम्बन्ध छ ।’ 

उनले रेडिमेड सिद्धान्तमा राखेर केही पनि कुरा बुझ्न नहुने धारणा राखे । उनले भने,‘हामी संसदीय प्रणालीको अधारभुत कुरा मान्न तयार छौं । आजको चीन बुझ्नको लागि हामीले छलफल गरेको हो ।’ उनले कांग्रेस नेता नारायणप्रसाद साउदले नेकपाले माफी माग्नुपर्छ भन्ने शब्द ‘प्रोभोक’ गर्ने कुरा भएको टिप्पणी गरे । उनले भने,‘हामीले छलफलमा जोमसोम, लोमान्थांका नाका, प्लेन रुट मागेका छौं । हामी संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न परराष्ट्र नीतिको पक्षपाती हौं ।’ 
चिनियाँ राष्ट्रपति सि जिनपिङको हुन लागेको नेपाल भ्रमण कतै नहोस भन्ने चाहेर हालै काठमाडौंमा भएको विचारधारात्मक छलफलको विरोध भएको त होईन भन्नेपनि उनले प्रश्न उठाए । उनले भने,‘हामीले कुरै नबुझी विरोध गर्नुहुँदैन् । मोदीको विकास हामी कम्युनिष्टले सिक्नुपर्छ । चीन राज्यले गरेको प्रगति, सबैले पढ्नुपर्छ । आजको युग भनेको प्रतिष्पर्धाको हो, त्यसैले पूर्वाग्रह राख्नुहुँदैन् ।’
उनले आफूहरु कुनै एक देशको पक्ष राष्ट्र हुन नचाहेको पनि सुनाए । भारत र चीनसँग नयाँ आयाममा समबन्ध कायम राख्न चाहेको पनि उनले स्पष्ट पारे । उनले अघि थपे,‘भारत र चीन सिमानामा कुनै जमानामा लडाई गरेका थिए । तर, आज उनीहरुबीच खरवौंको व्यापार छ । हामी नेपालीको बुद्धि नफिर्ने ? एउटा छिमेकीसँग सम्बन्ध सुधार गर्दा अर्को प्राभोक हुन्छ भनेर बस्नुहुँदैन् । अनुभव आदानप्रदान गर्नुपर्छ । हामीले संवैधानिक व्यवस्था अपनाएका छौं । हामी यी कुराप्रति प्रतिबद्ध छौं ।’ 

चीनको राष्ट्रपतिको दुई दशकदेखि नेपाल भ्रमण नभएको सुनाउँदै उनको भ्रमणको सम्मुखमा अनावश्यक टिकाटिप्पणी गर्न नहुने उनको धारणा छ । उनले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोनजामा भएको छलफल निकै उपयोगी र फलदायी भएको सुनाए ।

उनले भने,‘हामीबीच भएको छलफल निकै महत्वपूर्ण रह्यो । यस्तै कांग्रेसले पनि गरोस् । हामी भारतको सत्तारुढ दल बिजेपीका प्रतिनिधिसँग भेट्न तयार छौं । उनले चीनको विकास हामीले सिक्न जरुरी छ । उहाँहरुले सन् २०३५ सुम्म गरिबी जिरोमा ल्याउने भन्नुभएको छ । तर, छलफलमा उहाँहरुले हामीलाई यो मान, उ मान कहीँपनि भन्नुभएन ।’ 

उनले छलफल तथा अन्तरक्रियामा चिनियाँ प्रतिनिधिहरुले आफ्नो पार्टी सबैभन्दा लोकतान्त्रिक पार्टी हो भनेको पनि सुनाए । उनले भने,‘भ्रष्टाचारीलाई कारवाही गर्दारैछन् । यो कुरा एनपी साउदले पनि सिक्नुहोस् । चीनले हाँसिल गरेको प्रविधिको विकासको कुरा, संस्कृतिक कुरा हामीसँग सेयर गर्नुभयो । चीनमा सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार हो भन्नुभयो । त्यसको विरुद्धमा अहिलेपनि छौं भन्नुभयो । निकै वैचारिक कुरा सुन्न पाईयो । तर, उहाँहरुले सि जिनपिङको कुरा मान्नुपर्छ भनेर कहीँपनि भन्नुभएन् ।’

उनले दुई देशबीचको सुमधुर सम्बन्ध र राम्रो वातावरण बिर्गान नचाहिने काम र कुरा गर्न नहुने धारणा राखे । उनले बरु, नेकपा र सरकारको विरोध गर्न कांग्रेस नेतालाई सुझाए । ‘देउवाजीले त बरु नेकपा र सरकारको जमेर विरोध गर्नुभयो । प्रधानमन्त्रीको विरोध गर्नुभयो । हामीले भन्न कहीँ रोकेको छ ? हामी आजको २१ ऋौं शताब्दीमा प्रतिष्पर्धा गर्ने र विरोध गर्ने जमानामा छौं । तर, पूर्वाग्रह नराखौं ।’–पौडेलले थपे । त्यस्तै, उनले आगामी दिनमा जापान, चीन, अमेरिका, भारत र कोरियाले के कारणले राम्रो गरे र आर्थिक समृद्धि हाँसिल गरे भनेर अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।  

उनले भाईचारा र भातृसंगठन फरक कुरा भएको सुनाउँदै आफूहरुले कर्सी मेन्टन गर्नेगरि सम्बन्ध गर्नेलाई बढावा दिएको स्पष्ट पारे । ‘नेकपाले धेरै पहिलेदेखि भाईचाराको सम्बन्ध राख्दै आएको थियो । तत्कालिन नेकपा एमालेले पनि कायम गरेको थियो ।’–उनले भने,‘पाँच बुँदा हेर्नुहोस त त्यहाँ कुनै आयोजना वा नदी, नालाको सम्झौता छैन् । विचार आदानप्रदान गर्न पाईँदैन् ? नपढ्ने हामीले ? सुनेर थाहा पाउन नहुने ? अन्तरक्रियाबाहेक केही पनि होईन।’

छलफलमा भाग लिनुअघिसम्म पनि आफूलाई बिआरई के हो भन्ने कुरा राम्रोसँग थाहा रैनछ भन्ने भान भएको उनले सुनाए । पौडेलले भने,‘यो छलफल तथा अन्तरक्रियामा सहभागी भएपछि यसबारेमा गहिरामा थाहा भयो । गरिबि, भ्रष्टाचार, प्रविधि, सामाजिक रुपान्तरणलगायतका उहाँहरुको प्रगति सुन्नलायक छ । सम्बनध सुधार गर्नको लागि निम्ति धेरै आवश्यक छ ।’

उनले नेपाल भारत र चीनजस्ता महाशक्तिको बीचमा रहेको रहेको सुनाउँदै दुवैलाई नभड्काईन समुधुर र सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने सुनाए । उनले भने,‘आजको र अबको व्यवहार गर्नुपर्छ । भड्काउपूर्ण कुरा नगर्नुहोस् । चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रयत्न गरौं । भुकम्पले भत्काएको कोदारी राजमार्ग बनाउने हो । रेलमार्ग बनाउने हो । पुँजी भित्र्याउने हो । आफूले केही पनि नगर्ने अनि अरुले गर्न लाग्यो भनेर विरोध गर्ने ? यो राम्रो परम्परा होईन् ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नारायणप्रसाद (एन.पी.) साउदले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक भएको भन्दै नेकपाले माफी माग्नुपर्ने स्पष्ट पारेका छन् । 
उनले भने,‘नेकपा अहिले जुन किसिमले यो बाटोमा अगाढि बढ्दैछ, यसले देशभित्र ध्रुवीकरण गर्दैछ । यो गम्भिर आलोचनाको विषय हो । नेकपा सच्चिनुपर्छ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ । विदेशबाट आमन्त्रित गरेर हामीलाई प्रशिक्षण दिनुहोस् । सिकाईनिदुहोस । चीनबाट सत्ता कब्जा कसरी गर्न सकिन्छ भनेर सिक्ने, प्रशासन र पार्टीलाई कसरी नियन्त्रणमा राखेको छ भनेर सिक्नु र चीनको लामो छलाङको अभ्यास प्रशिक्षण लिएको देखिन्छ यो आपत्तिजनक । नेकपाले स्पष्टीकरण दिनुपर्छ ।’

तर, नेकपाका शीर्ष नेताहरुलेनै यो विषयमा गल्ती स्विकार गरेर क्षमा माग्ने भन्दापनि अर्गाल्याँई गर्ने गरेको उनको अर्को अराोप छ । उनले भने,‘नेकपाका नेताहरुले आफूले लिएको बाटोलाई बचाउ गर्ने खालको अभिव्यक्ति देखियो, यो राम्रो होईन् ।’ प्रशिक्षण वा गोष्ठी गर्नु नै गलत थियो भन्ने साउदको भनाई छ ।
उनले भने,‘चीनमा पृथक किसिमको विकास र शासनको मोडल छ । चिनियाँ नेताहरु ल्याएर यहाँ गोष्ठी गर्नु वा महाधिवेशनमा बोलाउनु त स्वभाविक हुन्थ्यो । तर, स्कुल विभागले गोष्ठी राखेर प्रशिक्षण लिनु गलत हो ।’

यद्धपी उनले आफूहरु चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । उनले भने,‘उहाँको भ्रमण हुनुपर्छ । नेपाली कांग्रेस सरकारमा भएको बेलामापनि उहाँलाई भ्रमणको लागि पटक–पटक निम्ता गरेका थियौं । चीन महत्वपूर्ण मित्र हो । उहाँको भ्रमण मित्रताको आदानप्रदन मात्रै होईन, आर्थिक हिसाबले पनि धेरै राम्रो छ ।’

उनले हालै नेपालमा भारत र चीन दुवै देशका विदेशमन्त्रीले भ्रमण गरेको सुनाउँदै यो अत्यन्तै राम्रो पक्ष भएको बताए । उनले भने,‘नेपालमा चीनका पनि विदशेमन्त्री आउनुभएको छ । भारतका पनि विदशेमन्त्री आउनुभएको छ । यसरी उच्चस्तरीय प्रतिनिधि नेपालमा आउने कुराले दुई देशबीच सम्बन्ध मजबुद हुन्छ । भ्रमणले विकास निर्माणदेखि जनस्तरमा सम्बन्ध राम्रो बनाउँछ । कांग्रेसले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्दै आएको छ । यसलाई कांगेस स्वागत गर्न चाहन्छ ।’
विदेशमन्त्रीमात्रै नभएर भारत र चीनका विभिन्न नेताहरु पछिल्लो समय नेपाल भ्रमणमा आएको सुनाउँदै उनले यसले नेपाल–भारत र नेपाल–चीनबीच जनस्तरीय दुई देशबीचको सम्बन्ध सुदृढ र बलियो बनाएको दाबी गरे । 

तर, अहिले केही नयाँ कुराहरु र परिदृश्यहरु देखिएका उनको टिप्पणी छ । उनले थपे,‘दुई सरकारबीच सम्बन्ध स्वभाविक छ । नागरिकतस्तमा सम्बन्ध स्वाभाविक छ । तर, एउटा कम्युनिष्ट पार्टीको अर्को कम्युनिष्ट पार्टीको भाृतसंस्था भएर सम्बन्ध स्थापित गर्ने कुरा आएको छ । नेकपा कतातिर गैरहेको छ ? कुन बाटो लागिरहेको छ भन्नेबारे गम्भिर प्रश्न उठेको छ । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध हुन्छ । कम्युनिष्ट ईन्टरनेश्नल हुँदा विश्वभरिका कम्युनिष्ट पार्टीहरु त्यसका सदस्य थिए । माओवादी पार्टी पनि रिमको सदस्य थियो । नेपाली कांग्रेस सोसलिष्टको सदस्य थियो ।’

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भैरहेको सम्बन्ध विस्तार गम्भिर भएको उनको टिप्पणी छ । उनले थपे,‘नेपालमा नेकपा गठन भएको भर्खरे डेढ दुई वर्ष भएको र नयाँ पार्टी छ । अन्तरसम्बन्ध के हो भन्ने कुरामा गम्भिर प्रश्न उठेको छ । चीनमा कम्युनिष्ट पार्टीको हातमा सरकार छ । नेपालमा सरकार संसदको हातमा छ । पार्टीहरु बहुदलीय व्यवस्थाअनुसार चल्छन् ।’ 

उनले बिआरआई वा सिल्क रोडले यो क्षेत्रको (चीनभित्र र वा बाहिर) को विकासको सन्दर्भमा महत्पूर्ण नक्शा कोरेको सुनाए । तर, कम्युनिष्ट पार्टीका नेताहरु स्वयमले यो परियोजनालाई चीनको विकासको नयाँ वैकल्पिक अर्थात् नयाँ मोडल भनेर भनिरहेको साउदको भनाई छ । उनले भने,‘नेकपाका नेताहरुले बिआरआई प्रजातन्त्रको वैकल्पिक मोडल हो भनेका छन्, नेकपाका नेताको भनाई र लेखबाट यो कुरा आईरहेको छ । दुई पार्टीबीच भातृत्वको सम्बन्ध स्थापित गरेर सहमति भएको छ । यो सहमति गम्भिर किसिमको छ ।’

कम्युनिष्टहरु सत्तामा आउँदा हाँस्न त पाईन्न–पाईनन रुनपनि पाईन्न भनेर आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले भनेको स्मरण गर्दै साउदले भने,‘हाम्रो सभापतिले यस्तो भन्दा नेकपाका नेताहरुले लोकतन्त्र र संविधानप्रति नेकपा प्रतिबद्ध पार्टी हो भन्नुभयो । जनतालाई भ्रमित पार्नुभयो  र मत लिनुभयो । अहिले देशभित्र नियम, कानुन बनाएर अधिकार केन्द्रिकृत गर्नुभएको छ । कानुन, संविधानको मौलिक ढाँचा प्रभावित गर्नुभएको छ ।’

नेकपाको यो गतिविधिले भोलिका दिनमा गम्भिर परीणामा हुने उनको भनाई छ । ‘अब नेपालको विदेश नीति, शासकीय ढाँचापनि विभिन्न अन्तर्राष्टिय पार्टीसँग उनीहरुको विचारसँग तालमेलसँग गर्नेभयो’–साउदले भने,‘यसले नेपाली जनताको एकता, संविधानले अनुभुत र प्रवन्ध गरेका निर्देशक सिद्धान्तहरु उल्लंघन गरेको देखियो ।’

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले नेपालले भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘भारतमा जति नेपालीहरु छन् । अधिकांश काम गरेर बसेका छन् । हामीबीच खुल्ला सिमाना छ । रोटी–बेटीको सम्बन्ध भन्छौं, सदियौंदेखि विशेष सम्बन्ध छ । यसलाई कायम राख्नुपर्छ ।’
उनले अहिलेपनि आफूहरुको संविधानप्रति असन्तुष्टि रहेको सुनाए । तर, संविधानको प्रस्तावनामा आफूहरुको पूर्ण समर्थन रहेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘अधिकारसम्बनधी असन्तुष्टि छ । मधेशी, दलित, जनजाति, थारु, आदिवासीको अधिकार यो संविधानमा संकुचित छ । तर, संविधानको प्रस्तावनाप्रति हाम्रो असन्तुष्टि होईन । हाम्रो देशमा बहुदलीय शासन पद्धती । हामी एक पार्टीको शासनमा विश्वास गर्दैनौं ।’

सरकार गठन संसदीय व्यवस्थामा आधारित रहेको कुरा वर्तमान संविधानको प्रस्तावनाले अंगिकार गरेको सुनाउँदै प्रस्तावनाप्रति आफूहरुको असन्तुष्टि नरहेको कर्णको जिकिर छ । उनले चीनले आफ्नो विकास उसको आफ्नै पद्धतीबाट गरेको होला भन्दै त्यही पद्धतीअनुसार नेपालले विकास गर्न नसक्ने जिकिर गरे । उनले भने,‘चीनमा एक दलीय प्रणाली छ । यहाँपनि त्यही गर्न खोजेको हो भने कि त संविधान मान्दिन भनेर भन्नुपर्यो । यो हाम्रो धरातल हो । यसैमा नेपाली जनताको आशा छ । यसलाई परिवर्तन गर्ने हो भने अर्के बाटो हो भनेर भन्न सक्नुपर्छ ।’ 
सरकार सञ्चालन गर्ने नेकपाले आफ्नो घोषणापत्रमा कहीँपनि एक पार्टी प्रणालीमा लग्छौं भनेर नभनेको उनको दाबी छ । उनले भने,‘नेपाली जनताले एक दलीय प्रणालीको लागि भनेर नेकपालाई अभिमत दिएको होईन् । चाईनिज डेलिगेशन आउनु राम्रो हो । भारत र अमेरिकाको पनि आउँछ । जुन किसिमले चिनियाँ कम्युनिष्ट पार्टी चलिरहेको छ, त्यो अवधारणाबाट हेर्ने हो भने निश्चित रुपमा चिन्ताजनक अवस्था छ । त्यहाँ त एक दलीय शासन छ । आजिवन राष्ट्रपति हुने कुरा गरिएको छ ।’ 

उनले नेपालमा आफूहरुले आवधिक निर्वाचनको व्यवस्था गरेको र राम्रो काम नगरे सरकार फेर्न सक्ने व्यवस्था गरेको पनि सुनाए । उनले भने,‘हामीले यही कुरा कबुल गरेका छौं । अब कम्युनिष्ट पार्टीले बाटो परिवर्तन गर्ने हो भने जनअभिमत र संविधानलाई धोका दिएको ठहरिन्छ । डेलिगेशन आए, गए यो राम्रो कुरा हो । छिमेकीसँग सम्बन्ध बढाउनुपर्छ । विकास, जनस्तर, देशको सम्बन्ध बढाउनुपर्छ । एउटा पार्टीले मेरो सिष्टम यस्तो छ, यसैगरि जा भनेर सिकाउँछ भनेर त्यो आपत्तिजनक छ । नेकपा सच्चिनुपर्छ ।’ 

नेकपाकै एकजना अर्थमन्त्री भैसकेको नेताले ‘चीनले व्यापारिक हितमात्रै हेर्छ’ भनेर अभिव्यक्ति दिएको सुनाउँदै कर्णले यो कुराको सरकारले मनन गर्नुपर्ने सुझाए । उनले भने,‘नेपालमा बाटो बन्छ, रेल आउँछ भने यसको हामी सबैले स्वागत गर्नुपर्छ । तर, चीनले ऋणमा बनाईदिने हो भने स्वागत गर्नुहुँदैन् । बरु, सहायता दिएर रोड, रेल बनाउँछ भने ठिक छ । पाकिस्तानमा गरेजस्तो विकास नेपाली जनताले स्विकार गरेको होईन । श्रीलंकाजस्तो हामीले स्विकार गरेको होईन। यदि त्यो मोटिभबाट काम हुन्छ भनेर नेपाली जनताले स्विकार गर्दैनन् । हाम्रो कन्सर्नको विषय त्यो हो । हामी सतर्क हुनुपर्छ । हामीले पाकिस्तान र श्रीलंकामा चीनको ऋण देख्यौं । त्यही किसिमको नेपालमा हुँदैन् ।’

उनले आफ्नो विकासको लागि सबैसँग सहयोग लिन सकिने भएपनि नेपालको एक ईन्चपनि जग्गा धितो वा बन्धक राखेर विकास गर्न नेपाली जनताले नचाहने स्पष्ट पारे । उनले भने,‘यो नेपाली जनताको चेतना हो । विकासको नाममा हामी आफ्नो देशको जग्गाजमिन धितो राख्न सक्दैनौं । यो विषयलाई पनि हामीले विश्लेषण गर्नुपर्छ ।’

नेपाल सरकार नेपालको पक्षमा र लोकतन्त्रको पक्षमा उभिनुपर्ने उनको धारणा छ । उनले भने,‘संसदीय व्यवस्था र बहुदलको पक्षमा उभिनुहोस भन्ने मेरो आग्रह हो । मैले कसैलाई गाली नगरिकन नेपाली जनताको सोच र संविधानको भावनअनुसार सबै पार्टी अघि बढ्नुपर्छ भनेको हुँ। संविधानको उल्लंघन गर्ने काम कोही कसैबाट पनि हुनुहुँदैन् ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको