ग्लोबल आइएमई बैंक लिमिटेडले आज कार्तिक २६ गते आफ्नो वार्षिक साधारणसभा सम्पन्न गर्दैछ। साधारणसभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुने कार्यक्रम तय गरिएको छ।
सभामा बैंकले आ.व. २०८१/८२ का नाफा–नोक्सान विवरणसहितका वित्तीय प्रतिवेदन पेश गर्दै, सोही अवधिको मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। उक्त लाभांशमा लाग्ने कर समेत बैंकले नै सम्हाल्नेछ। सभाले प्रस्ताव स्वीकृत गरेपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।
बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक १६ गते बुक क्लोज गरेको छ। त्यसअनुसार कार्तिक १५ गतेसम्म नाम दर्ता गराएका सेयरधनीले मात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।
आजको सभामा अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, आ.व. २०८१/८२ को वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरण सहितका लेखापरीक्षण प्रतिवेदन पारित गरिनेछ।
त्यससँगै ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजका विवरण समेटिएको एकीकृत वित्तीय विवरण पनि सभामा पेश हुनेछ।
बैंकले ८ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्तावसँगै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र उनीहरूको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेस गर्न लागेको छ।
यसबाहेक विशेष प्रस्तावअन्तर्गत बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक व्यवसायिक उद्देश्य थप वा संशोधन गर्ने विषयमा पनि छलफल हुने भएको छ। यो सम्बन्धमा नियामक निकायले सुझाव वा निर्देशन दिएको खण्डमा सञ्चालक समितिलाई आवश्यक संशोधन गर्ने अधिकार दिने प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस