अर्थ संसार, धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो। पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घटनालगत्तै फरार रहेका मियाँलाई आज धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो। मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाउनुभयो।
घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उहाँको कोखाबाट आन्द्रा निस्किएकाले राति नै शल्यक्रिया गरिएको थियो। घाइतेलाई सर्जरी वाडमा राखिएको छ। उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस