Like us!
Follow us!
Connect us!
Watch us!

हराउँदै गयो तिहारको मौलिकता

अर्थ संसार

बुधबार, १० कार्तिक २०७८, ०९ : ५६ मा प्रकाशित

हराउँदै गयो तिहारको मौलिकता

धु्रवसागर शर्मा 

अर्थ संसार,काठमाडौँ- चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । 

प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्को भनाइ छ ।

नेपालीका लागि दशैँपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो । दशैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिस रमाउने गर्दछन् ।

हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुशी बनाउने रोमाञ्चक चाड हो । तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको उहाँ बताउनुहुन्छ ।

आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृति देखिन थालेको पं पराजुलीले बताउनुभयो । “अरुबेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ, पं पराजुलीले भन्नुभयो, “यसले सबै प्राणीबीच समदृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाई (दाजुभाइ) लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यस पर्व अहिले केबल औपचारिकतामा सीमित भएको उहाँको भनाइ छ ।

माटाको दियोबाट मैनबत्ती हुँदै बिजुलीको झिलीमिलीमा तिहार

पहिलापहिला माटाको दियो र अमिलाको पातमा बाति (बत्ती) बालेर जिम फाल्ने चलन हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मोठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो । तर अहिले भने जताततै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । बेनी नगरपालिका– २ बगरफाँटका ८३ वर्षीय बेदप्रसाद शर्मा भन्नुहुन्छ, “यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।
माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलीमिली बत्तीमा मनाइने तिहारको मौलिकता कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाको भनाइ छ ।
 
पहिलापहिला दियो माटोको हुन्थ्यो । अचेल बालिने कृत्रिम बत्तीका कारण मानिसलाई मनोरञ्जन त हुन्छ तर मौलिकता रहँदैन । अचेल माटोको पाला पूजाकोठामा सीमित भएको भन्दै उहाँले माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।

झ्याल ढोकामा देखिँदैन तेलको धारा 

यमराजलाई बाटो छेक्नका लागि विशाल नदीको प्रतिकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धाराले प्रतिकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्नका लागि दिदीबहिनीले मूल ढोकामा तेलको धारा हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताउनुभयो ।

“ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसीभैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो”, शर्माले भन्नुभयो, “अब ती सबै कुरा हराइसके, तिहार केबल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।

भाइमसला बनाउन फुर्सद छैन दिदीबहिनीलाई 

सूचना र प्रविधिले विश्वलाई नै साँघुरो बनाइदिए पनि अपनत्व र सौहाद्र्रतालाई भने निकै टाढा पु¥याइदिएको छ । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दैछ र के भन्दैछ भन्ने कुराकोसमेत पत्तो हुँदैन । 

युवापुस्ताका दिदीबहिनी पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनी पनि बेफुर्सदिला हुने गरेका र झण्झटिला कामप्रति उनीहरुको रुचि घट्दै गएको भुक्तभोगीले बताउने गर्दछन् ।

दिदीबहिनीको बेफुर्सदिलो समयको आंशिक प्रभाव तिहारको मौलिकतामा पनि परेको छ । फूल, खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खाना परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ । तर दिदीबहिनी पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भन्नुहुन्छ अर्मनका खडानन्द सापकोटा ।

सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलाले दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत हुनुहुन्छ अर्मनकै रसिला जैसी पनि । “पहिला पहिला दिदीबहिनी भेला भएर तिहार शुरु हुनेबित्तिकै भाइमसलाको खोजी गथ्र्यौं, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउथ्यौँ, ६३ वर्षीया जैसीले भन्नुभयो, “अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।”

देउसीभैलो : पैसा असुल्ने माध्यम 

तिहारको आकर्षणमध्येको एक मानिएको देउसीभैलो आजकल आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभई पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ ।

केही सामाजिक सङ्घसंस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिइ बेतालको नृत्य (डान्स) देखाउँदै देउसीभैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् । हुन पनि आजकल गाइने देउसीभैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसीभैलो गीतमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूलाठूला  साउन्डबक्समा गीत घन्काउँदै हल्ला गर्दै देउसीभैलो समूहहरु हिँडेका देखिएका छन् ।

यस्तै हो भने केही वर्षपछि लोकबाजा र भैलीको मोलिकता हराउने निश्चित छ । त्यस्तै बेनीका ज्येष्ठ नागरिक डम्मरबहादुर कार्कीले देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, टयाम्कोलगायतका मौलिक बाजा बजाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब ती सबै कुरा एकादेशका कथामा परिणत भए, तिहारको मौलिकता हराउँदै गयो, आयातीत संस्कृतिले फस्टाउने मौका पायो ।”
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको