दुई- बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल। हात र खुट्टामा लामालामा नङ छन्। शरीरमा फोहरैफोहर देखिन्छ। कैदीलाई जस्तै उनको दुवै हातमा फलामको साङ्लो बाँधिएको छ। त्यहीँ दिसा पिसाब गर्छन्। यस्तै जीवन बिताइरहेका छन् भुमे गाउँपालिका– काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई। उनी विगत १३ वर्षदेखि नारकीय जीवन ब्यतित गर्दै आएका छन्।
सात वर्षदेखि उनको दुवै हातमा साङ्लो बाँधिएको छ। दमाई बन्द कोठामा जीवन बिताइरहेका छन् । विसं २०६३ माघमा उनका भाइ रुपचन्द्रको घरमा लुकाई राखेको बम विष्फोट भएको थियो। सो घटनामा उनका भाइ र बुहारीको मृत्यु भयो। सिङबहादुर भने त्यति बेलादेखि अचेत अवस्थामा हुनुहुन्छ। भाइको घरमा विष्फोट हुँदा सिङबहादुर आफ्नो घरको बारदलीनमा कपडा सिलाउँदै थिए । उनी भुर्इँमा खसे।
“त्यति बेलादेखि उ अचेत अवस्थामा छ”, सिङबहादुरकी ६४ वर्षीया आमा देमुले भनिन्। बेसुरमै गाउँमा मान्छेलाई कुट्ने, जथाभावी बोल्ने तथा ढुङ्गाले हान्न थालेपछि उनको दुवै हात साङ्लोले बाँधिएकोे स्थानीयवासीले बताए। उनको अवस्था देखेर विहा गरेको एक वर्षमै श्रीमती अन्तै पोइल गइन् । “आँशु नझरेको, भरी पेट खाना खाएको र मनमा पीर नभएको कुनै दिन छैन”, आमा देमुले भनिन्।
दिनभरि अर्काको घरमा काम गरी छिमेकीबाट ऐचोपैचो गरेर आफू भोकै रहेर भए पनि छोराको पेट भर्ने गरेको उनले सुनाइन्। भएको सबै सम्पत्ति बेचेर भैरहवा र बुटवल अस्पतालमा लगेर उपचार गरेको आमा देमुले सुनाइन्। “नौ लाख रुपैयाँ खर्च भयो, छोरालाई निको भएन्”, उनले भनिन्। सबै सम्पत्ति छोराको उपचारमा सकिएपछि अहिले सम्पत्तिको नाममा देमुसँग भत्केको घर र सानो खेत मात्र बाँकी छ।
बूढेशकालमा देमुलाई छोराले स्याहारसुसार गर्ने उल्टै उनले छोराको पालनपोषण गर्नुपरेको छ । देमुले भनिन्, “छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ, ओढ्ने, ओछ्याउने र लगाउने लुगा छैन ।” उनी घरमा बस्न खान समस्या भएपछि गाउँलेकहाँ शरण लिएर बसेकी छिन् । सरकारबाट द्वन्द्वपीडितले पाउने राहतसमेत नपाएको उनले बताइन्। सिङबहादुर देमुको हाल जिवित एक्लो छोरा हुन्। उनका श्रीमान्को मृत्यु भइसकेको छ। जनयुद्धको घाउले केवल आँशु र पीडा मात्र दिएको देमुको दुःखेसो छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस