अर्थ संसार, काठमाडौं– बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ। महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ।
राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो।
बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए । ह्यारीका पिता तथा युवराज चाल्स र उहाँका भाई विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गर्नुभएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्।
ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुग्नु भएका युवराज चाल्स उताबाट फर्किएर बैठकमा सहभागी हुनुभएको हो । मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो। उहाँलाई क्यानाडाबाटै बैठकमा सहभागीताका लागि आउन आग्रह गरिएको थियो।
व्यक्तिगत जीवनका लागि उनीहरुले फेरी ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ। महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिन अगाडी नै क्यानडा जानु भएको थियो। ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानाडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उहाँहरुले त्यस्तो घोषणा गर्नु भएको थियो ।
ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । दरवार श्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गर्नु भएको थिएन । राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतिको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्श पछि सोमवारको छलफल भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस