Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाको रेकर्ड तोड्न तयार भए १२ नेपाली युवायुवती

निशा हुमाँगाई

शुक्रबार, १० माघ २०७६, १५ : ४० मा प्रकाशित

अमेरिकाको रेकर्ड तोड्न तयार भए  १२ नेपाली युवायुवती

अर्थ संसार, काठमाडौं – नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड' मा नाम लेखाउने घोषणा गरिएको छ ।

आगामी फागुन २२ गते काठमाडौंमा बिहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो ।

 शुक्रबार मारूनी मिडिया नेटवर्कले पत्रकार सम्मेलन गर्दै उक्त विश्व किर्तीमानीबारे जानकारी गराएको हो । उक्त किर्तीमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिईसकेको छ ।

यसैगरी, कार्यक्रममा उक्त किर्तीमानी राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 

उनले भने,‘कार्यक्रमको राम्रो तयारी भएको छ । यो नेपालको परिवेशमा पनि विशुद्ध नयाँ रेकर्ड हाँसिल हुने हामीले अपेक्षा लिएका छौं । व्यवस्थापकीय हिसाबले पनि धेरै राम्रो तयारी भएको छ । हामी टिमवर्कमा विश्वास गर्छौं ।’ 

यस्तै, पत्रकार सम्मेलनकी प्रमुख अतिथिसमेत रहेकी चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि विश्व किर्तीमानी कायम गर्नको लागि सामूहिक नृत्यमा सहभागीहरूलाई शुभकामना दिएकी थिईन् । 

कार्यक्रममा मारूनी मिडिया नेटवर्कका प्रबन्धक डिल बहादुर मगर (डिकेश) ले ‘देशले हामीलाई के दियो ? भन्दापनि हामीले देशलाई के दियौं ?’ भन्ने मूल नाराका साथ आफूहरू विश्व किर्तीमानी राख्ने तयारीमा जुटेको स्पष्ट पारेका छन् । उनले उक्त उद्देश्य सफल हुनेमा आफूहरू विश्वस्त रहेको प्रतिक्रिया पनि दिएका छन् । 

यस्तै, उनका अनुसार उक्त विश्व किर्तीमानी कार्यक्रममा नेपालको मौलिक गीत–संगित, भेषभुषामा नृत्य प्रस्तुत गरिनेछ । समारोहको उद्घाटन भने देशका विशिष्ट व्यक्तिहरूले गर्ने तय भएको छ । 

यसअघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एम.टि.भि.ओ. म्युजिक अवार्डको नाममा १३ जना युवायुवतीले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको विश्व रेकर्ड राखेका थिए ।

त्यस्तै, अमेरिकाको नाममा रहेको यसअघिको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्ने प्रयास स्वरूप मारूनी मिडिया नेटवर्कमार्फत १३ जना नेपाली युवा युवतीद्वारा सामूहिक नृत्य गर्ने घोषणा गरिएको हो । सामूहिक नृत्यमा सामेल हुनेहरूमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरूङ, जस्टिना श्रीस, सुस्मिता गुरूङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन् । 

मारूनी मिडिया नेटवर्कका प्रबन्धक डिल बहादुर मगर (डिकेश) को नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘यो प्रयासबाट युवा पुस्तामा नेपाली मौलिक लोक संस्कृति र नृत्यप्रतिको दृष्टिकोणमा केही हदसम्म भएपनि परिवर्तन आउने अपेक्षा गरिएको छ । साथै, नेपाली लोक संस्कृति र लोक नृत्यलाई विश्वमा चिनाउने र नेपाल र नेपालीको नाम विश्वमा पुर्याउने यो प्रयासलाई सफल बनाउन तपाईको साथ र सहयोग हाम्रा लागि अत्यन्तै महत्वपूर्ण रहनेछ । यस कार्यमा सबैको हौसला र साथ रहनेछ भन्ने अपेक्षा राखेका छौं ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको