Like us!
Follow us!
Connect us!
Watch us!

लगानी आकर्षित गर्न प्रदेश सरकारहरूलाई ढकालको आग्रह

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, १६ : ४४ मा प्रकाशित

लगानी आकर्षित गर्न प्रदेश सरकारहरूलाई ढकालको आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रूपमा सञ्चालन हुने आयोजनाहरूको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने, कतिपय प्रक्रियागत कुराहरूमा हुने झमेला कम गरिदिने र अहिलेको परम्परागत शैलीमा परिवर्तन गर्ने हो भने नेपालमा लगानीका सम्भावनाहरू थप बढ्ने बताएका छन् ।

यसैगरी, जिल्ला, नगर तथा प्रदेशस्तरमा हुने लगानी एवं व्यवसाय सञ्चालनका लागि कर, रजिष्ट्रेसन एवं नयाँ अनुमति लिनेजस्ता विषयमा समस्या झेल्नुपरेको गुनासो जिल्ला नगर उद्योग वाणिज्य संघहरूबाट अत्यधिक रूपमा आउने गरेको भन्दै यी समस्या प्रदेश तथा स्थानीय सरकारले समाधान गरिदिए देशका साना व्यावसायीका लागि वातावरण बन्ने बताए ।

यसरी साना व्यवसायीहरूका समस्या कम भएमा प्रदेशमा मात्र नभएर देशमै लगानीको राम्रो वातावरण बन्ने उनले बताए । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरेकोले लगानी ल्याउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर सिंह, अर्थमन्त्री प्रकाश ज्वाला लगायतले आग्रह गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष ढकालले पनि सो आग्रह गरेका हुन् । सल्यानमा आयोजित प्रादेशिक कृषि, पर्यटन, उद्योग व्यापार मेलालाई आज सम्बोधन गर्दै उनले सो आग्रह आग्रह गरेका हुन् । 

यसैगरी, नेपालमा तीन तहको सरकार र कानूनहरू बनिसकेपछि पनि अझै कतिपय कामहरूमा झमेला नहटेको व्यावसायीको गुनासो रहेको उनको भनाई थियो । उनले नयाँ नियम कानुन बन्दा सरोकारवाला पक्षको सहभागिता र परामर्श हुन सके त्यसले व्यावसायिक प्रवद्धनमा सहजता थप्ने बताएका छन् ।

यस्तै, कुनै पनि नयाँ आयोजना सञ्चालन गर्नका लागि पर्यटन, वन, वातावरण आदिका क्षेत्रमा गर्नुपर्ने सरकारी प्रक्रियागत कार्यहरूमा अझै चुस्तता जरूरी रहेको उनको भनाई थियो । 

नेपालको कर्णाली प्रदेश क्षेत्र जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरू भित्र्याउन त्यस्तै लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् । 

त्यस्तै, मेला महोत्सवजस्ता व्यवासायकि प्रवद्धन गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कामहरूलाई एउटा कार्यविधि बनाएर जिल्ला नगर उद्योग वाणिज्य संघहरूले नै गर्नेगरी जिम्मेवारी दिँदा व्यवहारिक हुने उनले बताए । 

यस्ता महोत्सव एवं प्रदर्शनीहरूमा विदेशबाट आयातित गर्ने वस्तु राख्नु हुँदैन, नेपाली र स्थानीय उत्पादनलाई उजागर गर्ने, आन्तरिक प्रतिश्पर्धा गराउन सक्ने उत्पादन होस् या कला र अन्य विषयहरूलाई प्रवद्धन गर्ने र प्रोत्साहन गर्ने काम गर्नुपर्ने उनले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको