हाल पर्यटनलाई विश्वका प्रायः सबै मुलुकले उद्योगको रुपमा मान्यता दिइसकेको अवस्था छ । हाम्रो देश नेपालले पनि धेरै ढीला गरी केही वर्ष अघि मात्रै औपचारिक रुपमा यो विषयमा निर्णय गरेको थियो ।
जे होस्, विश्वका अधिकांश मुलुकका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा ! खोलिने वा भनौं सुरु गरिने र आमदानीको राम्रो स्रोतको रुपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई । त्यसो त विश्वमा औपचारिक रुपमा पर्यटन व्यवासाय सुरु भएको इतिहास हेर्दा लगभग एकसय ८१ वर्षको भैसकेको छ । विश्वमा पर्यटन व्यवासाय औपचारिक रुपमा सुरु भएको सन् १८४१ मा हो ।
सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित, संगठित रुपका र निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरुलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेहरुले अनेक खालका भ्रमणहरु गर्थे/गरेका थिए । तर, ती मान्छेहरुले फरक–फरक उदेश्य भ्रमण गर्थे । जस्तै धार्मिक, व्यापारिक, जासुसी लगायत अनेकखाले खोज–अनुसन्धानका लागि धेरै मान्छेहरु त्यो वेला पनि अन्य देशको भ्रमणमा निक्लन्थे । तर, त्यसमा केही न केही निहित उदेश्य त हुन्थ्यो नै ।
त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै किन पहिलो पर्यटकीय टोली मानियो ? भन्नेतर्फ सानो गन्थन मन्थन गरौं । किनभने, थोमस कुकले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकहरुलाई आफ्नै मुलुकको विभिन्न ठाऊँको भ्रमण गराएर आन्तरिक पर्यटकको रुपमा भ्रमण व्यवसायको सुरुवात गरे ।
जसको पर्यटकीय वा भनौं घुम्ने/विदा मनाउनेबाहेक अरु कुनै उदेश्य थिएन । यसरी कुनै उदेश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकोले उक्त भ्रमण टोलीलाई ‘पर्यटकीय टोली’ मानियो । यसरी स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा उन (थोमस कुक) लाई पर्यटनको सुरुवात कर्ता मात्रै होइन, पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ । तर, सुरुमा उनले पनि दीर्घकालीन योजना बिना नै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे ।
सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । यसरी उनले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । यसरी आन्तरिक रुपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा १० जना बेलायती नागरिकहरुलाई लिएर पर्यटकीय उदेश्यका साथ विश्वका विभिन्न देशहरुमा भ्रमण गर्न निस्किए । यसरी लगभग १ सय ८२ वर्षअघि थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उदेश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अरबौं/खरबौं मानिसहरुले विश्वका अधिकांश मुलुकका पर्यटकीय स्थलको भ्रमण गरे, पर्यटकीय उदेश्यका साथ ।
नेपालमा अहिले २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउँदै रहेको अवस्था हो । त्यसो त नेपाली पर्यटनको कुरो गर्दा मा १ सय ४ वर्षे राणा शासनकालमा विदेशीहरुलाई नेपाल भ्रमण गर्न बन्देज लगाईएको थियो । तापनि विसं २००७ को राजनैतिक परिवर्तनसँगै विदेशीहरुका लागि नेपाल खुल्ला भयो । तापनि विसं २०१७ सालको राजनैतिक परिवर्तनपछि बढी नै विदेशी पर्यटकहरुले नेपालको भ्रमण गर्न थाले । तर, त्यो वेला पर्यटकका लागि चाहिने आधारभूत आवश्यक्ताका कुनै पनि भौतिक पूर्वाधार वा भनौं चिजबिजहरु नेपालमा खासै उपलब्ध थिएनन् । त्यसै सुरुमा नेपाली पर्यटनको जग बसाल्न विदेशीहरु नै लागि परेका थिए भन्न सकिन्छ ।
त्यसका लागि पनि केही विदेशीहरु नै अघि सरेर नेपालमा पर्यटन व्यवसायको जग बसाले वा भनौं व्यवसायीक रुपमा पर्यटन व्यवसायको सुरुवात गरे भन्न सकिन्छ । त्यसरी नेपालको पर्यटनमा सुरुमा योगदान गर्नेहरुमा बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरु थिए । ती विदेशी नागरिकहरु जो नेपाल आएर बसेका थिए, उनीहरु सुरुमा शुद्घ पर्यटन व्यवसायीभन्दा पनि कुनै न कुनै उदेश्यले नेपाल आएर बसेका थिए ।
जे भए तापनि नेपाली पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा सुरुदेखि नै विदेशी नागरिकहरुबाटै भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । खासगरी विसं २००७ को राजनैतिक परिवर्तन र दास्रोपटक विसं २०१७ सालको राजनैतिक परिवर्तनको बीचमा नेपाली पर्यटनमा विदेशी नागरिकहरुले योगदान दिएका थिए । जस्तै तत्कालीन सोभियत संघका नागरिक, जो ब्याले नर्तक पनि थिए, बोरिस लिसानोभिचले नेपाल आएर तारे स्तरको होटल खोलेकोलेका थिए । भनिन्छ, उनी तत्कालीन सोभियत संघबाट सीधै नेपाल आएको नभएर भारतको पश्चिम बंगालको राजधानी कोलकाता हुँदै नेपाल आएका थिए ।
जे होस्, उनले नेपालको राजधानी सहर रहेको काठमाण्डौको कान्तिपथमा रहेको बहादुर शमशेर राणाको दरबार (बहादुर भवन) लाई नै सिंगार पटार र साजसज्जा गरेर होटलको रुप दिएका थिए । उनले आप्mनो होटलको नाम– ‘रोयल होटल’ राखेका थिए । त्यस्तै नेपालको चितवनमा ‘टाइगर टप्स’ नामक रिसोर्ट खोल्ने र नेपालमा त्यो बेला धेरै भन्दा धेरै विदेशी पर्यटक भित्र्याउने विदेशी नागरिकका रुपमा बेलायती नागरिक जिम एडवर्डलाई लिइन्छ । स्मरणीय छ, उनी शुद्ध पर्यटन व्यवसायी मात्रै नभएर नेपालस्थित बेलायती राजदूतावासमा पनि कार्यरत थिए । र, त्यही पहुँचलाई प्रयोग गर्दै एडवर्डले तत्कालीन राजा महेन्द्रसँग अत्यन्तै नजीकको सम्बन्ध बनाएका थिए ।
त्यस्तै नेपालको पर्यटनलाई महत्वपर्ण योगदान गर्ने अर्का विदेशी नागरिक हुन्, ‘–जापानका ताकासी मियाहारा ।’ सुरुमा उनले ‘ट्रान्स हिमालयन टर एण्ड ट्राभल’ नामक ट्राभल कम्पनी स्थापना गरे । त्यसपछि नेपालकै अग्लो स्थानमा ‘तारे स्तर’को पहिलो होटल खोले । मियाहाराले सोलुखुम्बु जिल्लाको स्याङबोचे (३ हजार ८ सय २३ मिटरको उचाई) विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमाको प्रवेशद्धार नाम्चेबजार भन्दा लगभग एकघण्टा लाग्ने स्थानमा ‘एभरेस्ट भ्यु’ नामक होटल खोले । जुन होटललाई विश्वकै अग्लो स्थानमा रहेको तारे होटल÷रिसोर्ट मान्ने गरिन्छ ।
माथि उल्लेखितबाहेक बारबरा एडम्स, रोबर्ट, तिलम्यान, एडमन्ड हिलारी, टोनी हागन, मौसिर हर्जोग, रेनहोल्ड मेस्नर लगायत ज्ञात अज्ञात विदेशी नागरिकहरुले पनि नेपालको पर्यटनलाई वर्तमान अवस्थामा ल्याईपुर्याउनका महत्वपूर्ण योगदान गरेका छन् भन्ने यो पंक्तिकारको बुझाई रहेको छ । ती मध्ये अधिकांशले यो भौतिक संसारलाई छाडेर सदाका लागि लीन भैसकेका छन् । त्यसैले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसरमा नेपालको पर्यटन उद्योग ! लाई यो अवस्थासम्म ल्याईपुर्याउन महत्वपूर्ण योगदान गर्ने ती ज्ञात अज्ञात विदेशी नागरिकहरुमध्ये जो जीवित हुनु हुन्छ, उनीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दे भौतिक संसारलाई छाडेर सदाका लागि लीन भैसकेकाहरु प्रति हार्दिक श्रद्धाञ्ली व्यक्त गर्दछु ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस