Like us!
Follow us!
Connect us!
Watch us!

स्याउको बोट बेचेरै करोडौँको कमाइ

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १७ : १३ मा प्रकाशित

स्याउको बोट बेचेरै करोडौँको कमाइ

अर्थ संसार, काठमाडौं – जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाए । उनको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६०० बिरुवा बाहिरियो । उनकाे स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि अर्को चरणमा बिरुवा पठाउने तयारीमा रहेको उनी बताउछन् । उनले भने, “स्याउको दाना बेचेर मात्र जुम्लाले रुपैयाँ कमाउँदैन, स्याउका बिरुवा बेचेर पनि करोडौँ रकम भित्र्याउँछन् ।

चन्दननाथ नगरपालिकाका नरबहादुर रावतले यहाँ उत्पादित स्याउका बिरुवा देशैभर पुग्ने गरेको अनुभव सुनाए । उनले भने, “किसानले गुणस्तरीय बिरुवा उत्पादन गर्नुपर्छ । सबै बिरुवा बिक्री भइहाल्छ । किसानलाई स्याउका बिरुवा खेर गयो भनेर पछुताउनुपर्ने हुँदैन ।”

जुम्लाको १४औँ जिल्ला परिषद्ले ‘एक घर एक स्याउ बगैँचा’को अवधारणा ल्याएदेखि नै उनले स्याउको बिरुवा उमार्न थालेका हुन् । उनले भने, “पहिले जिल्लाभित्रै स्याउका बिरुवा खपत हुन्थे । अहिले सडक सञ्जालले जोडिएपछि पूर्वको सोलुखुम्बुदेखि पश्चिमको दार्चुलासम्म यहाँका स्याउका बिरुवा पुग्ने गरेका छन् ।” उनको नर्सरीबाट यस वर्ष ८०० स्याउका बिरुवा अन्य जिल्लामा पुर्याइएको छ ।

बुढा र रावत उदाहरण मात्र हुन् । उनीहरुजस्ता स्याउ किसानले जुम्लामा ११० नर्सरी दर्ता गरेका छन् ।

जुम्लामा उत्पादित बिरुवाको माग जिल्ला बाहिर बढी छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भन्छन्, “यस वर्ष जिल्लामा छ लाख स्याउका बिरुवा उत्पादन भएको थियो । नर्सरी बारीमै प्रतिबिरुवाको मूल्य रु ४० कायम गरिएको छ । यस वर्ष झण्डै रु दुई करोड ४० लाख बराबरको स्याउको बिरुवा बिक्री भयो ।”

कृषि प्रमुख देवकोटाका अनुसार कूल उत्पादनको २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ । असी प्रतिशत उत्पादनको बजार जिल्ला बाहिर नै हो । “जुम्ला डेलिसियस’ जातको स्याउका बिरुवाको राष्ट्रिय स्रोत केन्द्रका रूपमा स्थापित भइसकेको उनले बताएका छन् ।

स्याउका बिरुवाको माग बझाङ, बाजुरा, सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु, हुम्ला, कालीकोटलगायत जिल्लामा बढी छ । व्यापारीले नर्सरीमै पुगेर बिरुवा खरीद गरिरहेका छन् । दुई वर्षअघि रु २५ मा बिक्री हुने गरेको प्रतिबिरुवाको मूल्य अहिले रु ४० पुगेको छ । यहाँका एक नगरपालिकासहित सात गाउँपालिकाले फलफूल खेतीलाई प्राथमिकतामा राखेका छन् ।

फलफूलमा स्याउखेती सबैको प्राथमिकता हो । किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने र हुर्काउन अनुदान दिने काम स्थानीय तहले गर्दै आएका छन् । तातोपानी गाउँपालिकाले प्रतिबिरुवा हुर्काउन वार्षिक रु १०० वितरण गरिरहेको छ । स्याउखेतीमा स्थानीयवासीको आकर्षण बढ्दै गएपछि स्याउ उत्पादन हुने क्षेत्रफल बढ्दै गइरहेको कृषि प्राविधिक बताउँछन् ।

पाँच वर्षका अवधिमा जुम्लामा करीब सात लाख स्याउको बिरुवा उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ । जुम्ली किसानले स्याउसँगै नर्सरीबाट पनि आम्दानी गरिहेका छन् । जुम्लाका आठै स्थानीय तहमा स्याउखेतीको सम्भावना राम्रो छ ।

जिल्लाका झण्डै १६ हजारभन्दा बढी घरधुरी स्याउखेतीमा निर्भर छन् । यतिबेला किसानले स्याउ बगैँचा व्यवस्थापनको काम सकाएका छन् । बोटको कोपिला पलाउने र फुल्ने मौसम शुरु हुन थालेपछि किसानले बगैँचा व्यवस्थापनलाई जोड दिएका थिए । “राम्रो काँटछाँट नभए स्याउले उत्पादन राम्रो दिँदैनन”’, स्याउ किसान जीवनबहादुर खत्रीले भने, “स्याउलाई गुणस्तरीय बनाउन आवश्यक मलखाद्य र व्यवस्थापनको जरुरी छ । यसका लागि यहाँका किसान लागिपरेका छन् ।”

हिउँका डल्ला हिउँ पोखरीमा सङ्कलन गर्ने, स्याउ बिरुवाको वरिपरि राख्ने, कोलिया बनाउने, घेरबार गर्ने, कलमी गर्ने, गोडमेल गर्ने, बोडो पेष्ट लगाउने काम स्याउ किसानले गरिसकेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको