रामराज शर्मा
दीर्घकालीन सोचका साथ काम नगरेपछि ऊर्जा क्षेत्रमा संकट आउनु निश्चित थियो नै, लकडाउन, भारतसँग सीमा विवाद, रूपैयाको अवमूल्यन र अमेरिकी अनुदान एमसिसीमाथिको राजनीतीकरणले गर्दा संकट दैलो मै आइसकेको छ ।
लकडाउनले गर्दा संसारभरि नै ऊर्जा उपभोगमा फेरबदल भइरहेको छ ।इटालीमा २५ प्रतिशत, फ्रान्समा २० प्रतिशत, बेलायतमा १२ प्रतिशत र भारतमा ३३ प्रतिशतसम्म ऊर्जा उपभोगमा कमी आएको छ । नेपालमा पनि ‘पिक आवर’ मा ३५ प्रतिशतसम्म माग घटेको छ । अर्थात्, सामान्य अवस्थामा अहिलेको समयमा १२ सय ५० देखि १३ सय मेगावाट बिजुली आवश्यक पथ्र्यो भने यतिवेला ९ सय ३० मेगावाट हाराहारीको माग छ । ‘अफ पिक समय’ (राति)मा चार सय ५० मेगा वाट र दिउसो ६ सय ६० मेगावाटको हाराहारीमा विद्युत् माग भइरहेको अहिलेको अवस्थामा विद्युत् उत्पादन क्षमता भने बढ्दै गइरहेको छ। नयाँ आयोजना सम्पन्न हुदैँ छन् भने वर्षात्का कारण सबै जसो आयोजना अब पूर्ण क्षमतामा सञ्चालन हुनेछन् । विकसित देश र हाम्रो विद्युत् उत्पादनको अवस्थानितान्त फरक छ ।कोइला, ग्यास, डिजेल र आणविक प्लान्ट ऊर्जाको प्रमुख स्रोत हुदैँ जलविद्युत्, सौर्य, वायु र अन्य नवीकरणीय ऊर्जा सहयोगीका रूपमा हुन्छन् ।
हाम्रोमा मुख्य स्रोत नै जलविद्युत् हो, त्यो पनि सबैजसो (कुलेखानीबाहेक) नदीको बहावमा आधारित भएकाले उत्पादन हुने सबै बिजुली प्रयोग गर्नुपर्छ । उत्पादित बिजुली प्रयोग हुन नसक्दा अर्बौं घाटा हुन्छ भने पानी सञ्चित गरेर राख्न पनि सकिन्न ।
नीति तथा कार्यक्रम : सरकारको नीति तथा कार्यक्रममा जे गर्ने भनिएको छ, ती सबै सम्भव छन् । अबको आर्थिक वर्षमा विद्युत् उत्पादन तीन हजार मेगावाट पुर्याउनु गाह्रो छैन, तर लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रलाई थप सघाउन आवश्यक छ । एक वर्षमै प्रतिव्यक्ति ऊर्जा खपतदुई सय ६० बाट तीन सय ५० किलोवाट प्रतिघन्टा पु¥याउन मुस्किल छ ।दूधकोसी, तमोर र माडीलगायत आयोजना सुरु गर्न सकियो भने केही उपलब्धि हुनेछ । तर, भनेजस्तै निर्माणमै जान सकिएला जस्तो लाग्दैन ।
भारतसँग अन्तरदेशीय प्रसारण लाइन र भारत तथा बंगलादेशसँग विद्युत् व्यापारलाई प्राथमिकता दिने कुरा त आयो, तर प्रगति हेर्दा ढुक्क हुने अवस्था छैन । यसैले नया आयोजना निर्माणमा ब्रेक लाग्न सक्छ । साना र मझौला जलविद्युत् आयोजना विविधि कारणले गर्दा संकटग्रस्त छन् । तिनको आवश्यकता नीति तथा कार्यक्रमले सम्बोधन गरेन । विद्युत् खपत हुन नसकेर खेर गररहेका वेलामा विद्युतीय गाडीको चार्जिङ स्टेसन बनाउनेबाहेक नीति तथा कार्यक्रममा विद्युत् खपत बढाउने खासै कार्यक्रम छैनन् ।
आर्थिक संकट : विद्युत् प्राधिकरण बिजुलीको एक्लो खरिददार हो ।केही आयोजनाले सीधै भारत र बंगलादेशमा बिजुली निर्यात गर्ने उद्देश्यसहित आयोजना निर्माण गर्ने सोच बनाए पनि कार्यान्वयन कठिन छ । माथिल्लो कर्णाली आयोजना ओगटेर बसेको ‘जिएमआर’ले प्रयास भने जारी राखेको छ । प्राधिकरणले लगभग ६ हजार मेगावाट विद्युत् खरिद सम्झौता (पिपिए) गरि सकेको छ । अहिले नै एक सय ६५ मेगावाटजति डलरमा पिपिए गरिएका आयोजना सञ्चालनमा छन् । डलर पिपिएका अन्य आयोजना (२१६ मेगावाटको त्रिशूलीलगायत) निर्माणाधीन छन् । केही ‘टेक अर पे’ पिपिएका आयोजना छन् । ‘टेक अर पे’अन्तर्गतका आयोजनाको बिजुली प्राधिकरणले नलिए पनि पैसा तिर्नै पर्ने हुन्छ । अन्य आयोजनाबाट उत्पादित बिजुली पनि नलिन गाह्रो छ । अबको वर्षात्मा मुलुकमै १२ सय ५० मेगावाटभन्दा बढी बिजुली अविच्छिन्न उत्पादन हुने अवस्था छ । यसैले औसतमा ६ सय मेगावाट बिजुली खेर जाने अवस्था आउदै छ । यस्तो हुदा प्राधिकरणले दैनिक ७० करोड रुपैया क्षति बेहोर्नुपर्ने हुन्छ । रुपैयाको अवमूल्यन भएका कारण डलरमा पिपिए भएका आयोजनालाई पैसा तिर्दा थप एक अर्बजति घाटा हुने सम्भावना छ ।
ऊर्जा निर्यात :हामीसँग जलाशय युक्त आयोजना नभएकाले पानी सञ्चितगर्न सकिन्न । उत्पादित बिजुली खपत नहु“दा निर्यात नै एक मात्र विकल्प हो ।निर्यात गर्न भारतीय बजारको विकल्प छैन । हाम्रो प्रसारण लाइन जोडिएको उत्तर प्रदेश र बिहारमा कोइलाबाट उत्पादित बिजुली प्रयोग हुन्छ । कोइला र डिजेलबाट उत्पादित बिजुली महँगो मात्र होइन, वातावरण प्रतिकूल समेत छ ।यस्तो अवस्थामा हामीले उब्रिएको बिजुली भारत निर्यात गर्न सक्नुपर्ने हो, भारतले पनि हरित ऊर्जा सजिलै किन्नुपर्ने हो । तर, हाम्रो बिजुली भारतलेकिन्ने सम्भावना न्यून छ, यो वर्षात्मा त छदै छैन । नेपाल–भारतबीच ऊर्जा खरिद सम्झौता हुन किन सकेन ? सहमति भइसकेको ऊर्जा बैंकिङ किन कार्यान्वयनमा आएको छैन ? हाम्रो नेतृत्व किन यति निम्छरो ? प्रश्न सोचनीय छन् । बंगलादेशमा बिजुली निर्यात गर्न पनि भारतीय भूमिमा निर्माण गरिएका संरचना प्रयोग गर्नुपर्ने हुनाले त्यो झन् कठिन छ । हाम्रो बिजुली त्यसै खेर जाने निश्चित छ । अनि, प्राधिकरण संकटग्रस्त हुने झनै निश्चित छ । सीमा विवाद बल्झिएको यो वेला हामीले भारतस“ग ऊर्जा किनिदेऊ भन्दा लिम्पियाधुरा– कालापानी सीमा विवादको विषय उठ्ने पक्का छ । फेरि, बाध्यतामा बिजुली बेच्नुपर्दा उसले निकै सस्तोमा खरिद प्रस्ताव गर्ने सम्भावना हुन्छ । भइरहेका प्रसारण लाइन पर्याप्त बिजुली निर्यात गर्न सक्षम छैनन् ।
वैदेशिक लगानी :१० वर्षमा १५ हजार
मेगावाट उत्पादन गर्ने भन्दै वैदेशिक लगानी भित्रायाउन तामझामसाथ लगानी सम्मेलन त गरियो, तर हात लाग्यो शून्य । जलविद्युत् आयोजनामा प्रत्यक्ष वैदेशिक लगानी आएन । निर्माणको चरणमा जानै लागेका नर्वेजियन कम्पनी स्ट्याटक्राफ्टले ६ सय ५० मेगावाटको तामाकोसी–३ र अस्ट्रेलियाको स्मेकले पश्चिम सेतीबाट बाहिरिनुको मुख्य कारण बजारको अनिश्चितता हो ।बिजुली बेच्ने बजार भएन भने आयोजनामा लगानी किन गर्ने र कसले गर्ने ? अहिले एमसिसीको राजनीतीकरण चुलिएको छ । भारतमा बिजुली निर्यात गर्ने हेतुसाथ प्रस्ताव गरिएको लप्सीफेदी–हेटौ“डा र लप्सीफेदी–रातामाटे–दमौली–बुटवल–गोरखपुर चार सय ४० केभीको डबल सर्किट प्रसारणलाइन निर्माण गरिएन भने थप अन्योल आउनेछ । लगानीका लागि कम्तीमा भारतले बिजुली किनिदिने सुनिश्चितता र बिजुली पु-याउने प्रसारण लाइन जरुरी छ ।
केही उपाय
हाम्रो सबैभन्दा ठूलो गल्ती समयमै जलाशययुक्त आयोजना निर्माण गर्न नसक्नु हो । अहिले कुल उत्पादनको ३५–४० प्रतिशत बिजुली त्यस्ता आयोजनाको हुन्थ्यो भने समस्या आउने थिएन । भारतसँग आवश्यक सम्झौता र सहमति गर्न नसक्नु अर्को कमजोरी रह्यो । अब देशभित्रै अधिकतम ऊर्जा खपतका कार्यक्रम नल्याई सुखै छैन । पिक र अफ पिक समयको बिजुलीको रेट फरक–फरक राख्दै तुरुन्तै मिटरिङ प्रणालीमा परिवर्तन ल्याउनैपर्छ । अहिलेको सबैभन्दा सजिलो र छिटो उपाय भनेकै यही हो । दीर्घकालका लागि भारत निर्यात गर्न राजनीतिक तहबाट छलफल चलाउन आवश्यक छ । अन्तरदेशीय प्रसारण लाइन निर्माण रोक्नैहुन्न, सकिन्छ भने चीन जोड्ने भनिएको लाइन पनि सुरु गर्नुपर्छ । विद्युतीय सवारीसाधनमा पूर्ण भन्सार छुट मात्र होइन, अनुदानसमेत दिनुपर्छ । कोरोनाका कारण चीन छाड्न लागेका भनिएका लगानीकर्तालाई यहा“ आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्छ । ठूला उद्योग खुल्नु बिजुलीको खपत बढ्नु हो । बिजुली आपूर्ति भरपर्दो नहुदा खाना पकाउने ग्यासको प्रयोग कम गर्न सकिएको छैन । भरपर्दोआपूर्तिका लागि वितरण लाइन र ट्रन्सफर्मर सुधार आवश्यक छ ।
(नयाँ पत्रिकाबाट साभार)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस