Like us!
Follow us!
Connect us!
Watch us!
गरिब र गरिबका बच्चा–बच्चीहरु ‘लकडाउन’ अवधिभर के खाएर बाँच्ने सरकार ?

अब ‘लकडाउन’ खोलाऊ सरकार..

मंगलबार, १३ जेठ २०७७, १४ : ५२ मा प्रकाशित

अब ‘लकडाउन’ खोलाऊ  सरकार..

 –निनाम कुलुङ मंगले

चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको ‘नोभेल कोरोना भाइरस डिजिज–२०१९’ (पछि कोभिड–१९ भन्न थालिएको) नामक संक्रामक भाइरसको महामारीले हाल विश्वको लगभग सबै देश २२० मा (२१५ देश) लाई आतंकित पारेको छ ।

त्यसो संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो रोग (कोभिड–१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ तारिखका दिन नै घोषण गरेको हो । यो लेख लेख्दासम्म (२५ मे २०२०) (कोभिड–१९) को महामारीका कारण ५५ लाखभन्दा बढी मानिसहरु बिरामी भएका छन् भने, विभिन्न देशका ३ लाख ४७ हजार नजिकको संख्यामा मानिसहरुलाई मृत्यु–लोक पुर्याई सकेको छ ।

त्यस्तै २३ लाख २ हजारभन्दा बढी मानिसहरु यो महामारीबाट मुक्त भएर घर फर्केका छन् भने, ५३ हजार २०० भन्दा बढी मानिसहरु अभै पनि यो महामारीका कारण सिकिस्त बिरामी रहेका छन् । तर, लगभग १०–१२ दिन अघिदेखि (कोभिड–१९) को माहामारीका संक्रमणका कारण मर्ने र निको हुनेहरुको संख्या (प्रतिशत) र सामान्य बिरामी हुने र सिकिस्त बिरामी हुनेहरुको संख्या (प्रतिशत) मा धेरै नै परिवर्तन वा भनौं सुधार आईसकेको छ । जस्तै सुरुमा मर्ने र निको भएकाहरुको संख्या (प्रतिशत) हेर्दा मर्नेहरुको संख्या (प्रतिशत) २१ र निको भएर घर फर्कनेहरुको संख्या (प्रतिशत) ७९ सम्म पुगेको थियो । तर, यो दर विस्तारै घट्दै आएर अहिले १३ र ८७ प्रतिशतमा झरेको छ ।

त्यस्तै सामान्य बिरामी र सिकिस्त बिरामी भएकाहरुको संख्या (प्रतिशत) मा पनि सुरुको दिन र अहिलेको अवस्थामा धेरै नै परिवर्तन आएको छ । जस्तै सुरुमा सामान्य बिरामीहरुको संख्या ९४–९५ प्रतिशतसम्म पुगेको थियो भने अहिले ९८ प्रतिशतमा छ । त्यस्तै सुरुमा सिकिस्त बिरामीको प्रतिशत ४–५ सम्म पुगेको थियो भने, अहिले २ प्रतिशतमा झरेको छ । त्यसो त अभैm पनि विश्वका कति मान्छेहरुलाई (कोभिड १९) को भाइरसको महामारीले परमधाम पुर्याउने हो ? अहिले नै किटेर यकिन साथ यत्ति नै मानिसहरु परमधाम पुग्छन् ! भन्न सकिन्न । 

जे होस्, नेपालमा पनि (कोभिड–१९) को असर व्यापक हुने लक्षण वा भनौं संकेतहरु देखा परेपछि सुरुमा नेपाल सरकारले विसं २०७६ चैत ११ गतेदेखि १७ गतेसम्म एक हप्ताका लागि ‘लक डाउन’ गर्ने घोषणा गरेको थियो । तर, चैतको १५–१६ ताका नेपालको सुूदरपश्चिममा (कोभिड–१९) को ‘स्टेज–२’ (विदेशबाट आएकाले नेपालमै रहेका आफन्तलाई सारेपछि) देखा परेपछि नेपाल सरकारले फेरि अर्को १ हप्ताका लागि अर्थात् चैत २४ गतेसम्मका लागि लकडाउन थप्यो । त्यसलाई पनि अधिकांश नेपाली जनताहरुले सहर्ष स्वीकारे । तर, यसबीचमा (कोभिड–१९) को संक्रमितहरुको संख्या स्थीर रहनुको सट्टा झनै बढ्दै गएपछि अझ भएन, भनेर नेपाल सरकारले एकैचोटि (२ वर्षका लागि !) विसं २०७७ वैसाख १५ गते रातको १२ बजेसम्म लागू हुने गरी लकडाउन घोषणा गरेको छ । थाहा छैन, वैसाख १५ गतेपछि के हुने हो ? किनभने... । 

वास्तवमा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म (संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई) संक्रमित नगरोस्-भाइरस नसारोस् ! भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रुपमा रहेको ‘लकडाउन’ नै देखिएको छ । त्यसैले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नफैलियोस् भनेर विश्वका अधिकांश देशहरुले ‘लकडाउन’ वा संकटकालको मोडल लागू गरे । फलतः नेपाल सरकारले पनि विश्वका अन्य केही देशहरुले झैँ ‘लकडाउन’कै उपाय अवलम्बन गरेको छ, अहिलेसम्म ।

तर, त्यति हुँदाहुदै पनि लकडाउन ताका नेपालमा १–२ जनामा मात्रै देखिएको (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको लक्षण अहिले आएर ६०३ जनामा देखिई सकेको अवस्था छ भने, ३ जनाले ज्यान गुमाई सकेका छन् । त्यसैले यस विषयमा सरकारको कमजोरी कहाँ रह्यो ?, किन यस्तो अवस्था आयो ? गम्भीर रुपमा छलफल र बहस हुनुपर्ने देखिन्छ । समाज न हो, त्यसैले केही मानिसहरु अझै पनि बिना काम ‘लकडाउन’लाई खेलाँची ठानेर जथाभावी लखर–लखर हिँडी रहेकै छन् ! 

हुन पनि विश्वका लगभग १ चौथाई जनसंख्या (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासबीच ‘लकडाउन’ र ‘संकटकाल’को सामना गर्दै प्रत्यक्ष रुपमा कष्टकर जीवन बाँची रहेका छन् भने अरु अरबौं मानिसहरु (कोभिड १९) को अप्रत्यक्ष असरको मारमा परेका छन् । त्यसो त राज्य व्यवस्था राम्रो भएको, सरकार विश्वासिलो एवम् दह्रो भएको र, सुशासनको ग्यारेन्टी भएको देशको जनताहरुलाई त ‘लकडाउन’ र ‘संकटकाल’ले खान नपाएर आज मर्ने कि ? भोलि मर्ने ? भन्ने पीर छैन ! खालि उनीहरुको व्यक्तिगत स्वतन्त्रताको मात्रै हनन् भएको महसुस भएको छ !

मतलब यो अवस्थामा उनीहरु आफुले चाहेअनुसार घुमफिर गर्न र चाहेअनुसारको ... गर्न मात्रै पाई रहेका छैनन् । अर्थात् उनीहरुलाई ‘लकडाउन’ र ‘संकटकाल’ अवधिभरि के खाने ?, कसरी बाँच्ने ? भन्ने र अहिले के खाऔं, भरे के खाऔं ? भोलि के ... ? भन्ने खासै चिन्ता छैन । किनभने, ती देशका सरकारले नै आफ्नो जनताहरुका लगि सबै कुरोको व्यवस्था गरी दिएको छ ।

किनकि, ती देशका सरकार तथा राज्य प्रमुखहरु र नीति निर्माण गर्ने तहमा बसेकाहरुले ‘मानव पुँजी’ भनेको के हो ? भन्ने राम्रोसँग बुझेका छन्, आत्मसाथ गरेका छन् । तर, नेपाल, भारत (भारतले सरकारले नगद र खाद्यान दिएको थियो), पाकिस्तान, बंगलादेश आदि देशका सरकार प्रखुम, राज्य प्रमुख र नीति निर्माण तहमा बसेकाहरुलाई त ‘मानव पुजी' न मानव सु... ! उनीहरु जसरी बाँचून् मतलब छैन ! खालि हात ‘लकडाउन’ अवधिभर घरभित्रै बस, बाहिर–फेर हिँडडुल नगर ! खबरदार ! तिमीहरु ‘लकडाउन’को समयमा घरबाहिर हिँडडुल गरेमा हाम्रा सुरक्षाकर्मीहरुले पक्डेर ... बेर छैन ! भन्छ । 

त्यसैले हामी जस्ता साँच्चैको गरिब र गरिबका बच्चा–बच्चीहरु ‘लकडाउन’ अवधिभर के खाएर बाँच्ने सरकार ? 

अझ सम्माननीय राष्ट्र प्रमुख ज्यु नै (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई ‘भावनामा नबग्न !’ सम्झाउनु हुन्छ, अर्ती उपदेश दिनु हुन्छ । जबकि, सम्माननीय राष्ट्र प्रमुख ज्युले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई अरु केही नभए पनि लकडाउन अवधिभरिका लागि कम्तीमा ‘रासन–पानी र ओतको व्यवस्थपन गर सरकार !’ भनी सरकार वा सरकार प्रखुमलाई दीशा–निर्देश गर्नु पथ्र्यो । त्यसैले अब भोकभोकै भए पनि लकडाउन त मान्नै पर्यो !

उता, सरकार प्रखुम झन् के कम ! उहाँले पनि ‘लकडाउन हाम्रा (सरकार) का लागि होइन, तपाईँ निम्छरो जनताहरुकै लागि हो !’ भनी सम्झाउनु हुन्छ, अर्ती उपदेश दिनु हुन्छ । 

भनेपछि ‘भिटेन’ हो कि कसले हो– ‘हामी यस्तै त हो नि ब्रो, हामी यस्तै ...  भने जस्तै ‘हामी यस्तै त हो नि !, हामी यस्तै त ... !, हामी यस्तै ... !  हामी ... !  नत्र भने, हालै आएको नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई अरु केही नभए तापनि लकडाउन अवधिभरिका लागि कम्तीमा ‘रासन–पानी र ओतको व्यवस्थपन सरकारले गर्ने छ !’ भनी आउनुपथ्र्यो । तर, अहँ आएन । धेरैले यस्तो आशा गरेका थिए । तर ....

त्यस्तै नेपालका भाइरल रोग विज्ञ, जनस्वस्थ्य विज्ञ लगायत अन्य विषय विज्ञ र डाक्टरहरुले पनि सरकार वा सरकार र सरकार प्रखुमलाई आफ्नो देशका निम्छरो जनताहरुलाई कसरी बचाउँने ? भन्ने तर्फ दिशानिर्देश गर्ने खालको लेखहरु पनि लेख्नु पथ्र्यो कि ? तर, उनीहरुले पनि ‘जो होचो उसैको मुखमा ...’ भने जस्तै खालि निम्छरो जनतालाई नै ‘यसो गर, उसो उसो नगर, यसरी बस, उसरी बस ।’ भन्ने अर्ती–बद्धि ! दिएको लेखहरु मात्रै लेखेको देखियो । त्यसैले अब मान्छेहरु कहिलेसम्म भोकभोकै भएर लकडाउन मानेर बस्लान् ? प्रश्न उठ्न थालेको छ है, सरकार तथा नेपालका भाइरल रोग विज्ञ, जनस्वस्थ्य विज्ञ लगायत अन्य विषय विज्ञ र डाक्टर ज्युहरु ! 

अब निम्छरो जनताहरुलाई भावनामा नबग्ने उपदेश, खान पाऊ कि नपाऊ, घरभित्रै बस भन्ने अर्ती–बद्धि ! दिएर मात्रै पुग्दैन, त्यसैले नेपाल सरकार र नेपालका भाइरल रोग विज्ञ, जनस्वस्थ्य विज्ञ लगायत अन्य विषय विज्ञ र डाक्टर एवम् नर्स ज्युहरुले कि त ‘लकडाउन अवधिभरि’का लागि खाद्यान तथा अन्य आधारभूत आवश्यक्तको परिपूर्ति सरकारले गर्ने व्यवस्था गर्नुपर्यो, होइन भने सामाजिक दूरी कायम गर्दै ‘लकडाउन’ खोल्नु पर्यो । मर्ने मर्छन् बाँच्ने बाँच्छन् !? के गर्ने ? भन्ने व्यक्ति स्वयम्ले बुझने र उसैले विवेक प्रयोग गर्ने कुरो हो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको