Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश १ मा कोरोना संक्रमितलाई अनलाइनबाटै अस्पताल भर्ना

अर्थ संसार

सोमबार, २६ जेठ २०७७, १० : ४८ मा प्रकाशित

प्रदेश १ मा कोरोना संक्रमितलाई अनलाइनबाटै अस्पताल भर्ना

अर्थ संसार, काठमाडौं । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । 


सङ्क्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए । उनका अनुसार सङ्क्रमितले बेड बुक गरेपछि बेड नं र सङ्क्रमितको ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने सङ्क्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ । 
    
अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
    
मन्त्री घिमिरेले आइतबार पूर्वाञ्चल विश्वविद्यालय मेडिकल सङ्कायका डिन डा शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेना र अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेका थिए। सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने थप ५१ बेड तयार गर्न मन्त्री घिमिरेले निर्देशन दिएका छन् ।
    
सङ्क्रमितको उपचारमा विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । मन्त्रालयले अस्पतालमा २४ सै घण्टा सेवाका लागि एउटा एम्बुलेन्सको प्रबन्ध गर्ने भएको छ । (राष्ट्रिय समाचार समिति)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको