Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश २ ले चार पिसीआर मेसिन खरिद गर्दै

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, ०७ : २८ मा प्रकाशित

प्रदेश २ ले चार पिसीआर मेसिन खरिद  गर्दै

अर्थ संसार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

यसका साथै समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । परीक्षणमा प्रयोग हुने रिएजेन्टलगायतका सामग्रीसमेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेशको प्रवेशविन्दुमा नेपाली सेनाले ‘होल्डिङ एरिया’ बनाई व्यवस्थापन गर्ने र काठमाडौँबाट तोकिएको क्वारेन्टिनसम्म पुग्दाको खाना, खाजालगायतका खर्च प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई दिएको छ ।

लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्य आवश्यक रणनीति लागू गर्ने निर्णयसमेत गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको