Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार खुलाउन अर्थ समितिको अथक प्रयास : बोर्डमै पुग्यो समिति

निशा हुमाँगाई

सोमबार, ०८ असार २०७७, २० : ५१ मा प्रकाशित

शेयर बजार खुलाउन अर्थ समितिको अथक प्रयास : बोर्डमै पुग्यो समिति

अर्थ संसार, काठमाडौं - लामाे समयदेखि बन्द रहेकाे शेयर बजार खुलाउन संघीय संसदको अर्थ समितिले अथक प्रयास गरेका छन् । 

आज (सोमबार) नेपाल धितोपत्र बोर्ड पुगेर अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल लगायत पूँजी बजार अध्ययन उपसमितिका पदाधिकारीसहितको टोलीले शेयर बजार छिटो खोल्न निर्देशन दिएका हुन् ।

बाेर्डले एक सूचना प्रकाशन गर्दै उक्त छलफल कार्यक्रममा धितोपत्र बजार तथा नियमन सम्बन्धमा अध्ययनका लागि अर्थ समितिका माननीय सभापति कृष्ण प्रसाद दाहालको नेतृत्वमा बोर्डमा आएको उक्त टोलीमा पुँजी बजार अध्ययन उपसमितिका संयोजक तथा अर्थ समितिका सदस्य राम कुमारी झाक्री, अर्थ समितिका सदस्य तथा उपसमितिका सदस्य मटमणी चौधरी, अर्थ समितिका सदस्य तथा उपसमितिका सदस्य प्रमिला राई, अर्थ समितिका सचिव सुरेन्द्र अर्याल, अर्थ समिति सचिवालयका उप सचिव सिता काफ्ले तथा बोर्डबाट बोर्डका अध्यक्ष तथा उच्च सदस्य कर्मचारीहरु रहेका जानकारी दिएकाे छ ।

छलफलमा अर्थ समितिका सभापति दाहालले नेपालको वित्तीय प्रणालीमा पुँजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा प्रस्तुत गरेका थिए । धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिएतापनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको उनकाे भनाइ थियाे ।

यसैगरी, आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिवृद्धि गर्नुपर्ने, पुँजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने, वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागि मार्गनिर्देशन गर्नुका साथै बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्नेमा उनले जोड दिएका छन् ।

त्यसैगरी, उक्त छलफलमा बोर्डका अध्यक्ष ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दे केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिएका छन् । उनले पुँजी बजार संवेदनशिल बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरेको बताए । यस्तै, उनले पुँजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको