राजनीति केका लागि ? प्रश्न जति सरल देखिन्छ उत्तर त्यतिकै जटिल छ । राजनीतिक परिदृष्यले फरक फरक ब्याख्या गरिरहेको छ । राजनीति आम जनताका लागि हुनुपर्ने हो । राजनीति देश विकासका लागि हुनु पर्ने हो । राजनीति बेथिति, विसंगति, अन्याय, अत्याचारको विरुद्ध हुनु पर्ने हो । नेपालमा त्यस्तो देखिएको छैन । त्यसैले यहाँका दल राजनीति केका लागि गर्छन् ? सत्ता प्राप्त गर्न ? सम्पत्ति बटुल्न ? शक्ति प्राप्त गरेर अरुलाई सताउन ? वा अरु कुनै कारण छ ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै सगोत्री नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वमा आफूले महत्वपूर्ण मन्त्रालय ओगटेर बसेको सरकारबाट समर्थन फिर्ता लिएर सधैं सत्रुतापूर्ण सम्बन्ध भएको नेपाली कांग्रेससँग लगनगाँठो कसे । त्यसले उनलाई सत्ताको लगाम समाउने ठाउँमा त पु¥यायो, तर जनताको पोल्टामा अस्थिरताबाहेक केही परेन ।
सत्ता सहयात्री काँग्रेसले गुट उपगुटलाई मिलाएर मन्त्री छान्न महाभारत झेल्नु प¥यो । पार्टी सभापति शेरबहादुर देउवाले सार्बजनिक रुपमै भने, ‘जितेर फूलमाला लगाउन सजिलो, पार्टी चलाउन साह्रै गाह्रो । पार्टीमा मन्त्री कसलाई बनाउने मारामार छ, पार्टी पदाधिकारी छान्न उस्तै सकस छ । मेरो हालत त्यस्तै भएको छ ।’ यस्ता दृष्य संसदीय पार्टीहरुका नियमित दृष्य हुन् । यी दलहरु सत्ता, शक्ति, पद र पैसाकै लागि राजनीति गर्छन् भन्ने यिनै दृष्यले प्रस्ट पार्छन् ।
यहाँ चर्चा गर्न खोजिएको विषय भने नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा (माओवादी) को हो । तत्कालीन एनेकपा माओवादीबाट छुट्टिएर क्रान्तिको वकालत गर्ने वैद्य नेतृत्वको माओवादीलाई समेत विभिन्न आरोप लगउदै आफू सच्चा क्रान्तिकारी भएको दावी गर्दै छुट्टै पार्टी गठन गरेको नेकपा (माओवादी) का पछिल्ला गतिविधि क्रान्तिउन्मुख हुन् कि प्रतिक्रान्तिकारी ?
क्रान्तिकारी पार्टी भनेर दावी गर्नेहरुले त्यसअनुकूल आचरण गर्नु पर्छ । केही समयअघि देशभरिका शैक्षिक संस्थामा दुईदिने हड्ताल गर्न आदेश दिएको नेकपा माओवादी क्रान्तिकारीको विद्यार्थी संगठनका कार्यकर्ताले केही दिनअघि काठमाडौँस्थित मोडेल नर्सिङ कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा तोडफोड गरे । आफ्नो आदेश नटेरेको भन्दै कर्यकर्ताले तोडफोड गरेपछि डरले देशभरिका सबै स्कुल कलेज बन्द भए ।
निजी स्कुलदेखि विश्वविद्यालयसम्मले हचुवा भरमा वृद्धि गरेको शुल्क फिर्ता गर्नुपर्ने, गरिब विद्यार्थीले मेडिकल शिक्षा निस्शुल्क पाउनुपर्ने लगायतका माग उनीहरुको थियो । त्यही माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दका छोरा भने महंगो शुल्क तिर्नुपर्ने चितवन मेडिकल कलेजमा एमबिबिएस पढिरहेका छन् । माओवादीले पार्टी चलाउने नाममा उठाएको चन्दा कतै चन्दले आफ्नो छोरालाई पठाउन खर्च गरेका त छैनन् ?
त्यसअघि माओवादीले एक महिनाअघि एक्कासी नेपाल बन्दको घोषणा गर्यो । मजस्ता धेरैलाई माओवादीको नेपला बन्द केका लागि भन्नेसमेत थाहा थिएन । काठमाडौंको चाबहिलस्थित हेल्पिङ् हेन्डस अस्पतालको भित्तामा रंगिन फोटोसहितको पोस्टर हेरेर थाहा पाएँ, ‘यो बन्द त सर्लाहीमा सुकुम्बासीका नाममा सरकारी जमिनमा लगाइएको बाली सरकारले फाँडेको विरोधमा पो रहेछ ।’
चन्द नेतृत्वको माओवादीको आँखा सर्लाहीको ढुंग्रेखोला र मूर्तिया क्षेत्रको करिब २५ सय बिघा सरकारी जग्गामा परेको रहेछ । सागरनाथ वन विकास परियोजनाका नाममा रहेको उक्त सरकारी जमीन उर्बर हुनुका साथै अर्बौं मूल्यको छ ।
सरकारी जमिनमा स्थानीय भूमाफियाले सर्बसाधारणलाई प्रयोग गरेर लगाइएको मकै सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको नेतृत्वमा वन कर्मचारी, सागरनाथ वन विकास परियोजनाका कर्मचारीले फाँड्न लागेपछि अतिक्रमणकारी प्रतिकारमा उत्रिएका थिए । उनीहरुलाई उक्काएको थियो चन्द नेतृत्वको माओवादीले ।
त्यसलाई सुकुम्वासीमाथि राज्यले दमन गरेको दावी गर्दै विप्लव माओवादीले सारनाथको जग्गा प्रकरणलाई ‘युद्धको घोषणा’ नाम थियो । त्यसैको नामा रहेछ नेपाल बन्द । त्यहाँ सुकुम्वासीका नाममा कतिपयले पक्की घर बनाएका छन् । अतिक्रमणकारीले त्यहाको सरकारी जग्गा विक्रीसमेत गर्दै आएका छन् । सरकारले त्यहाँको जमिन नियन्त्रणमा लिएर वृक्षारोपण गर्ने योजना बनाएको छ ।
वन विनासले वातावरणमा प्रतिकूल प्रभाव पारिरहेको सबैलाई थाहा छ । त्यसको असर आम सर्बसाधारणलाई पर्छ । वनविनासका कारण चुरेबाट निस्कने खहरेले तराई क्षेत्रमा विनास निम्त्याइरहेको छ । पानीका मुहान सुक्दै गएका छन् । सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गर्नेहरुको नेतृत्व गरेका छन् ढुंग्रेखाला–७ का कुमार पौडेलले ।
मूर्तियाको सार्वजनिक जग्गाको लालपूर्जा अतिक्रमण गर्नेलाई दिलाउने उनको योजना छ । आफ्नो स्वार्थ पूर्ति गर्न राजनीतिक दल फेरिरहने कुमारलाई वैशाखी दिने दल चन्द नेतृत्वको माओवादी पाँचौ हो । उनी चन्द माओवादीको सर्लाही सेक्रेटरी हुन् । दल बदल्दै उनी वन क्षेत्र अतिक्रमणमै केन्द्रित छन् । बनको तस्करीलाई आफ्नो मुख्य पेशा बनाएका उनलाई चन्द माओवादीले आफ्नो नेता बनाएको छ ।
मूर्तियाको वन मासेको अभियोगमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ७५ करोड रुपियाँ बिगोको मुद्दा छ । उनी तारेख खेपिरहेका छन् । मूर्तियाको वन फँडानी गरको आरोपमा सर्लाही जिल्ला वन कार्यालयले पनि उनका नाममा वारेन्ट जारी गरेको छ । तस्करीको नाइकेलाई नेता बनाएर चन्द माओवादीले के गर्न खोजेको हो ? बुझ्न गाह्रो छैन ।
उसको आँखा यतिखेर महंगो सरकारी जमिनमा गढेको छ । बजार मूल्यलाई आधार मान्दा भूमाफियाले कब्जा गरेको जग्गाको मूल्य २० अर्ब रुपियाँभन्दा माथि हुने देखिन्छ । माओवादीले सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने नियत ल्याएको बुझ्न पार्टी अध्यक्ष नेत्रविक्रम चन्दले जारी गरेको विज्ञप्तिले समेत प्रस्ट पार्छ ।
उनले जारी गरेको विज्ञप्तिमा ‘सरकारले निम्त्याएको भिडन्तका क्रममा ‘सुकुमबासीका ३५ घर, ६ वटा मोटरसाइकल तोडिएको’ उल्लेख छ । त्यहाँ बसेकाहरु धेरैका पक्की घर छन् । घरैपिच्छे मोटरसाइकल छन् । उनीहरु ट्याक्टर लगाएर जमिन जोत्छन् । पक्की घर बनाउने, मोटरसाइकल किन्ने र ट्याक्टरबाट खेती गर्नेहरूलाई कसरी सुकुम्बासी हुन्छन् ?
चन्द नेतृत्वको माओवादीले केही महिना अघि एनसेलका देशभर रहेका टेलिफोन तोडफोड ग¥यो । क्रान्तिकारी कुरा गर्ने पार्टीले विनास गरेर क्रान्तिकारीता प्रदर्शन ग¥यो । बुझ्न गाह्रो छैन, उसले चन्दा नपाएको झोकमा त्यस्तो हर्कत गरेको हो । सबैलाई त्रासमा राखेर आफ्नो स्वार्थ सिद्ध गर्ने नियत चन्द नेतृत्वको माओवादीमा देखिन्छ । उसले आयोजना गरेको बन्दमा समेत ट्याक्सी चलाएर आफ्नो परिवार पाल्ने धेरै श्रमजीविको ट्याक्सी जलाएर उनीहरुको रोजीरोटी खोसेको थियो ।
टेलिफोन टावर तोडफोड गर्ने, आफ्ना छोरालाई महंगो मेडिकल कलेजमा पढाएर सर्बसाधारणका छोराछोरी पढ्ने स्कुल बन्द गराउने, सुकुम्बासीका नाममा महंगो जग्गा कब्जा गर्ने, बन विनास गर्नेलाई सघाउने, बन्दका नाममा ट्याक्सी चलाउने मजदुरको ट्याक्सी जलाउने गरेर माओवादी नेता चन्दले कसका लागि राजनीति गरिरहेका छन् ?
नेपालका कम्युनिस्टहरु गरिवका नाममा राजनीति गर्छन् । आफूलाई गरिवको पार्टी भनेर दावी गर्छन् । मुलुक विकास भयो भने जनता पनि समृद्ध हुन्छन् । जनता समृद्ध भए कसको नाममा राजनीति गर्ने ? त्यसैले हो कि नेत्रविक्रम चन्द जनतालाई गरिवको गरिवै राखेर तिनै जनताको नाममा राजनीति गरिरहन चाहन्छन् । बिहारमा एउटा उखान थियो, ‘जबसम्म बिहारमा गरिवी रहन्छ, तबसम्म राजनीतिमा लालु रहन्छन् ।’ नितिशकुमार सत्तामा आएपछि तीब्र रुपमा विकास भयो । भनिरहनु पर्दैन, अहिले विहारको राजनीतिमा लालुको स्थान कहाँ छ ।
नेत्रविक्रम चन्दले भर्खरै आफ्नो पार्टीको नाम फेरेर ‘नेकपा माओवादी’ बाट नेपालमा १० बर्ष लामो जनयुद्ध लडेको आफ्नो मातृ पार्टीकै विरासत लिने गरी ‘नेकपा (माओवादी)’ राखेका छन् । यसको अर्थ चन्द माओवादीलाई जनयुद्ध कालिन स्वरुपमा लैजान चाहन्छन् । ब्यक्तिगत स्वार्थको पुलिन्दा बाकेर जनताको नाममा राजनीति गर्नुको कुनै अर्थ रहँदैन । क्रान्तिकारी ‘त्रास’ देखाएर, केहीलाई धम्क्याएर आफ्नो अभिस्ट पूरा गर्न त सकिएला, जनताको नाममा राजनीति गर्न सकिदैन भन्ने माओवादीले बुझ्न जरुरी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस