Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा यसपल्ट आउनैपर्ने पूँजीबजार सुधारका कामहरु

तिलक कोइराला

अर्थ संसार

विहीबार, १४ जेठ २०८३, ०७ : ५० मा प्रकाशित

बजेटमा यसपल्ट आउनैपर्ने पूँजीबजार सुधारका कामहरु

१. नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीका साधारण सेयर बिक्रीबाट भएको पूँजीगत लाभबाट तिरिएको अग्रिम कर प्राकृतिक ब्यक्तिको लागि अन्तिम कर हुनेछ र यस्तो कर ब्यक्तिगत करदाताको कर दाखिला विवरणमा स्वतः संग्रह हुने, करचुक्ताका लागि सेयर दलाल, सीडीएससी र नेप्से धाउनुपर्ने, डे फोर फाराम भर्नुपर्ने जस्ता झंझटिलो प्रक्रिया अन्त्य गरि लगानीकर्ता आफैले आफ्नो करचुक्ता प्रमाणपत्र अनलाईनबाट निकाल्नसक्ने र सम्बन्धित निकायले हेर्नसक्न ब्यवस्था गरिने छ ।

२. सूचीकृत कम्पनीका साधारण धितोपत्रहरु बिक्री गर्दा दोस्रो बजारमा प्राकृतिक ब्यक्तिहरुलाई लाग्दै आएको अल्पकालीन लगानीको पूँजीगत लाभमा ७.५ र ३६५ दिन भन्दा बढी अवधिको दीर्घकालीन लगानीमा ५ प्रतिशत लाभकर दर आगामी ५ बर्षसम्म यथावत राखिने छ । २०८३ साल साउन १ गतेदेखि दोस्रो बजारबाट साधारण सेयर खरिद गरी १०९५ दिनसम्म धारण गरेमा त्यस्तो धितोपत्र बिक्री गर्दा ३ प्रतिशत मात्र लाभकर लाग्ने ब्यवस्था गरिनेछ ।

३. ईन्ट्रा डे, सर्ट सेलिड. र ३० दिन अवधिसम्म सेयर धारण गरी बिक्री गर्दा हुने अल्पकालीन पूँजीगत लाभमा १५ प्रतिशत अन्तिम कर लाग्ने ब्यवस्था गरिनेछ । संस्थापकबाट साधारणमा बदली भई बिक्रीमा आउने सेयरमा १० प्रतिशत अन्तिम कर लाग्ने ब्यवस्था गरिनेछ ।

४. धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्धेश्यले स्थापित पब्लिक लिमिटेड कम्पनीहरुलाई बार्षिक नाफाको २० प्रतिशत मात्र आयकर लाग्नेछ । त्यस्ता कम्पनीहरुले साविकको कार्यक्षेत्रमा ५० प्रतिशत लगानी गरी बाँकी ५० प्रतिशत लगानी स्रोतलाई दोस्रो बजारमा सूचीकृत भएका र १० करोड कित्ता कारोबारयोग्य साधारण सेयर रहेका कम्पनीहरुको सेयरमा प्रत्येक कम्पनीमा ५ प्रतिशत भन्दा बढी लगानी नहुने गरी लगानी गर्नसक्ने गरी कार्यक्षेत्र बिस्तार गरिनेछ ।

५. २०८३ साउन १ गतेदेखि सामुहिक लगानी कोषहरुको ईकाईहरु दोस्रो बजारबाट खरिद गरी एक लाख रुपैयाँ बराबरको त्यस्ता ईकाईहरु ३६५ दिनसम्म बिक्री नगरी राखेमा सो रकम बराबरको पूूँजीगत लाभकरमा छुट प्रदान गरिने छ । सरकारी कोषहरुलाई सामुहिक लगानी कोष संचालन गर्न लगाई आफ्नो संस्थागत लगानी सोही कोषहरुमार्फत दोस्रो बजारमा परिचालन गर्न लगाईने छ ।

५. गैरआवासीय नेपालीहरु र गैरआवासीय नेपालीहरु मात्र सेयरधनी रहेको कम्पनीले तोकिएको कार्यविधि अन्तर्गत दोस्रो बजारको निश्चित धितोपत्रहरुमा लगानी गरी ३६५ दिनसम्म धारण गर्नुपर्नेछ र त्यसमा गैरआवासीय प्राकृतिक ब्यक्तिको हकमा साढे सात प्रतिशत र कम्पनीको हकमा २० प्रतिशत मात्र अन्तिम कर लाग्नेछ ।

६. बोनस र हकप्रद सेयरको मूल्य समायोजन हुँदा नै सो वापत पछि प्राप्त हुने सेयरको भारित औसत लागत स्वतः गणना हुने गरी ब्यवस्था मिलाईने छ ।

७. प्रतिसेयर नेटवर्थ पाँच सय रुपैयाँ वा सो भन्दा माथि भएको र गत बर्ष सेयरधनीलाई ५० प्रतिशत भन्दा बढी लाभांश दिएको कम्पनीले सर्बसाधारणमा ३० प्रतिशत सेयर बिक्री गर्ने गरी दोस्रो बजारमा सूचीकृत हुन आएमा ५ बर्षसम्म आयकरमा १० प्रतिशत छुट प्रदान गरिने छ ।

८. राम्रा कम्पनीहरुलाई दोस्रो बजारमा सूचीकृत हुन प्रोत्साहन दिने गरी सार्वजनिक सेयर निश्काशनका लागि नयाँ मापदण्ड बनाईने छ । अंकित मूल्य, प्रिमियम र बुक बिल्डिड. तीन वटै प्रक्रियाबाट सार्वजनिक निश्काशन गर्दा संस्थागत लगानीकर्ताका लागि ६० प्रतिशत सेयर छुट्याउनुपर्ने र संस्थागत लगानीकर्ता मध्ये आपसमा सम्बन्ध र स्वार्थ नगाँसिएका कम्तिमा १० वटा संस्थाले सो सेयर सकार गरेमा मात्र सर्बसाधारणलाई सेयर बिक्री गर्ने अनुमति प्रदान गर्ने ब्यवस्था गरिने छ ।

९. मुद्रा तथा धितोपत्र सम्बन्धी कसुर तथा मुद्धाहरु हेर्न र छिटो न्याय निरुपण गर्नका लागि बिशिष्टिकृत मुद्रा तथा धितोपत्र अदालत गठन गरिनेछ । धितोपत्र र बित्तीय अपराधहरुमा संम्लग्न भएको आशंकामा कुनै पनि ब्यवसायी र लगानीकर्तालाई विना आधार जबरजस्ति पक्राउ नगर्ने प्रत्याभुति गरिनेछ र प्रमाण जुटेपछि मात्र सोधपुछका लागि उपस्थित हुन र बयान दिन बोलाउने ब्यवस्था गरिनेछ ।

१०. धितोपत्र बजारलाई विविधिकरण गर्न ऋण पत्र बजार यसै आर्थिक बर्षभित्रमा संचालनमा ल्याईने छ ।

११. निमायकीय पुर्वाधार र शर्त पुरा गरी दोस्रो बजारमा सूचीकृत रहेका र वास्तविक प्रतिसेयर नेटवर्थ दुई हजार रुपैयाँ भन्दा माथि रहि सेयरधनीलाई बार्षिक रुपमा ५० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दै आएका कम्पनीहरुलाई रु. १० को अंकित मूल्यमा सेयर विभाजन (स्पिलिट) गर्ने सुविधा प्रदान गरिने छ ।

१२. सेयर धितो कर्जा लिँदा आयस्रोत प्रमाणित गर्नुपर्ने ब्यवस्था हटाईनेछ । बाणिज्य बैंकका सहायक कम्पनीले सेयर दलालको कार्य गर्ने अनुमति प्राप्त गरेको अवस्थामा त्यस्तो बाणिज्य बैंकले अनिबार्य रुपमा आफ्नो सहायक कम्पनी सेयर दलालमार्फत मात्र प्रतिस्पर्धी ब्याजदरमा मार्जिन कारोबार सुविधा प्रदान गर्न ब्यवस्था गरी दोस्रो बजारका लगानीकर्ताहरुलाई सहज र सुलभ सेवा प्रदान गर्न अनिवार्य गरिनेछ ।

१३. दोस्रो बजारमा सूचीकृत बैंक र बीमा बाहेकका हरेक कम्पनीले कम्तिमा २५ प्रतिशत संस्थापक हिस्सेदारी कायम राखी संस्थापक सेयरलाई बल्क कारोबारबाट हक हस्तान्तरण हुने ब्यवस्था मिलाईने छ । कम्पनीका संचालक रहेकै बखत आफ्नो र एकाघरको सेयर हस्तान्तरण गर्नुपरे सात दिन अघि नै कारण खोली सार्वजनिक सूचना जारी गरेर हक हस्तान्तरण गर्न सकिने ब्यवस्था मिलाईने छ । २५ प्रतिशत संस्थापक हिस्सेदारी नरहेका मौजुदा कम्पनीहरुको हकमा आगामी साधारणसभामा रोष्टरमा सूचीकृत कम्तिमा ४ जना स्वतन्त्र संचालक हुनैपर्ने बाध्यकारी ब्यवस्था गरिने छ ।

१४. प्रतिसेयर नेटवर्थ १००० रुपैयाँ वा एक करोड कित्ता भन्दा कम साधारण सेयर रहेका कम्पनीहरु अनिबार्य एसएमई प्लेटफर्ममा जानुपर्ने ब्यवस्था गरी २०८३ साउन १ गतेदेखि एसएमई प्लेटफर्म संचालनमा ल्याईने छ ।

१५. नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको कानूनी र संस्थाागत पुनःसंरचनाको थाती रहेको काम २०८३ असोज मसान्तसम्म सम्पन्न गरी नेपालको पूँजी बजारलाई आधुनिकीकरण गरिनेछ ।

१६. सर्वसाधारणमा प्राथमिक सेयर निश्काशन हुन्छ भन्ने प्रचार गरी सर्बसाधारणलाई भ्रममा पारी पूँजी संकलन गर्ने प्रबृत्तिलाइ तत्काल रोक लगाई त्यसो गर्ने कम्पनीहरुलाई दोस्रो बजारमा सूचीकृत हुनबाट बन्देज लगाईने छ ।

१७. जलविद्युत कम्पनीहरुको स्थायित्व, सुसंचालन र खर्च कटौतिलाई प्रोत्साहित गर्न करिडोरमा आधारित रहि एउटै करिडोरमा रहेका दुई वा सो भन्दा बढी कम्पनीहरु गाभ्ने, गाभिने र एक अर्कामा विलिन हुन चाहेमा त्यस्तो कम्पनीलाई तीन बर्षसम्म आयकरमा ५ प्रतिशत छुट प्रदान गरिने छ ।

१८. सक्कली वा नक्लली नामबाट, रकम लिएर वा नलिएर सामाजिक संजाल र संचार माध्यमहरुबाट सेयर किन्न वा बेच्न सल्लाह दिने कार्यलाई रोक लगाई धितोपत्र बोर्डबाट अनुमति प्राप्त ब्यक्तिले मात्र निश्चित कार्यविधि अनुसार परामर्श दिन पाउने ब्यवस्था गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको