Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण व्यवसायीको माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघको आग्रह

अर्थ संसार

विहीबार, १४ जेठ २०८३, १६ : ०४ मा प्रकाशित

निर्माण व्यवसायीको माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघको आग्रह

निर्माण व्यवसायीहरूले उठाएका मागहरू सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकारसँग आग्रह गरेको छ। इन्धनको मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न कठिन भएको भन्दै मूल्य समायोजनलगायतका माग राखेर नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै परिसंघले निर्माण व्यवसायीहरूको आन्दोलनप्रति समर्थन जनाएको हो। निर्माण परियोजनामा परेको असरले यससँग प्रत्यक्ष सम्बन्धित अन्य उद्योगहरूमा समेत शिथिलता आउन सक्ने भन्दै परिसंघले चिन्ता व्यक्त गरेको छ। अमेरिका–इरान तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ। इन्धन तथा निर्माण सामग्रीको मूल्यमा भएको तीव्र वृद्धिका कारण निर्माण उद्योग नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

अमेरिका इरान तनावअघि अर्थात् फेब्रुअरी १५ मा डिजेलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँ रहेकोमा हाल बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १ सय ५५ रुपैयाँ पुगेको जनाएको छ। निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिन लगायतका सामग्री तथा ढुवानी खर्चमा उल्लेख्य वृद्धि भएपछि निर्माण व्यवसायीहरू आर्थिक संकटमा परेको महासंघले जनाएको छ। मूल्यवृद्धिका कारण हालसम्म निर्माण व्यवसायीहरूले १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको उनीहरुको दावी छ। 

परिसंघले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाब कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सम्बन्धित निकायहरूले तत्काल उचित सम्बोधन गर्नुपर्ने भनेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको