नेपालबाट इजरायलमा २ हजार ३ सय नेपाली कामदार लैजाने प्रक्रिया सुरु भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा नेपाली नागरिकलाई रोजगारीका लागि पठाउन वैदेशिक रोजगार विभागले आवेदन खुला गरेको हो ।
विभागका अनुसार कुल मागमध्ये ४० प्रतिशत कोटा पुरुष र ६० प्रतिशत महिला कामदारका लागि छुट्याइएको छ । इच्छुक तथा योग्य नेपाली नागरिकले विभागको अनलाइन वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया २०८३ जेठ १७ गते राति १२ बजेदेखि सुरु भई २०८३ असार ७ गते राति १२ बजेसम्म खुला रहनेछ । सरकारी प्रक्रियामार्फत इजरायल जान चाहने उम्मेदवारका लागि निश्चित योग्यता र मापदण्ड तोकिएको छ । आवेदन दिने व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । साथै, आवेदकको शारीरिक उचाइ कम्तीमा १.५ मिटर र तौल न्यूनतम ४५ किलोग्राम हुनुपर्ने विभागले जनाएको छ ।
कति चाहिन्छ शैक्षिक योग्यता ?
शैक्षिक योग्यताको हकमा आवेदकले कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा न्यूनतम १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्छ । साथै, प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । आवेदक यसअघि इजरायलमा गई काम नगरेको हुनुपर्छ । साथै, उनका बुबा, आमा, पति, पत्नी वा छोराछोरी हाल इजरायलमा बसोबास नगरेको वा त्यहाँ कार्यरत नरहेको हुनुपर्नेछ । प्रवेशाज्ञा प्रक्रिया सुरु हुँदासम्म पासपोर्टको म्याद कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने प्रावधान पनि राखिएको छ ।
कामदार शारीरिक तथा मानसिक रूपमा पूर्ण स्वस्थ हुनुपर्नेछ । उनी क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया वा एड्सजस्ता कुनै पनि दीर्घरोगबाट ग्रसित नभएको तथा गह्रौँ सामान उठाउन सक्ने क्षमतायुक्त हुनुपर्ने पूर्वसर्त तोकिएको छ । अंग्रेजी भाषाको दक्षताका लागि विशेष मापदण्ड निर्धारण गरिएको छ । आवेदकले तोकिएको संस्थाबाट सञ्चालन हुने क्याम्ब्रिज अपस्किल अंग्रेजी परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
फाराम भर्दा वैध प्रहरी चारित्रिक प्रमाणपत्र, पासपोर्टको स्क्यान प्रतिलिपि, उचाइ र तौल उल्लेख गरिएको स्वघोषणा फाराम तथा गोपनीयता मञ्जुरीनामा अनलाइन प्रणालीमार्फत अपलोड गर्नुपर्नेछ ।
छनोट भएका सहायक कामदारहरूले इजरायलका स्याहार केन्द्रहरूमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको हेरचाह, सरसफाइ र पोषण सम्बन्धी कार्य गर्नुपर्नेछ । यस पदका लागि मासिक तलब ६,४४३.८५ इजरायली मुद्रा (नेपाली २ लाख ५० हजारभन्दा धेरै) हुने छ । हप्तामा ६ दिन र प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्नेछ । यसमा नियमानुसार ओभर टाइमको सुविधा समेत रहनेछ । सुरुमा १ वर्षको करार अवधि रहने र यसलाई बढाएर अधिकतम ५ वर्षसम्म थप गर्न सकिने सुविधा रहेको छ । कामदारको मासिक पारिश्रमिकबाट आवास, खाना, स्वास्थ्य बिमा र करबापतको रकम इजरायली कानुन बमोजिम कट्टा हुनेछ । भने रोजगारदाताले कामदारको नाममा मासिक पारिश्रमिकको १२.५ प्रतिशत रकम विदेशी कामदार कोषमा जम्मा गरिदिने व्यवस्था रहेको छ । यो कोषको रकम करार अवधि समाप्त हुनासाथ इजरायल छोड्ने बेला कामदारले फिर्ता पाउनेछन् ।
हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोष लगायतका अन्य पूर्व–प्रस्थान खर्चहरू भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस