Like us!
Follow us!
Connect us!
Watch us!

सर्प पाल्न ७२ करोड अनुदान

अर्थ संसार

बुधबार, १७ भदौ २०७७, १४ : ३२ मा प्रकाशित

सर्प पाल्न ७२ करोड अनुदान

अर्थ संसार, सलाही– सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । 
    
प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि प्रतिष्ठानले तीन वटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताउनुभयो । 

सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको सो प्रतिष्ठानले सर्लाहीको लालबन्दी नगरपालिका–१ मा साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको अध्यक्ष पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सर्प पाल्नका लागि प्रतिकठ्ठा रु साढे ३ लाखका दरले टेण्डरमार्फत खरिद गरिएको उक्त जग्गामा तीनै तहका सरकारको लगानी छ । सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले बताउनुभयो ।

असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उहाँको भनाइ छ । उहाँका अनुसार अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने छ । शुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको अध्यक्ष पन्तले बताउनुभयो । 

 पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७० सालको संविधानसभाको चुनाव सर्लाहीबाट पनि लडेका थिए । नेता खनालको चुनावी प्रचारप्रसारका क्रममा विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृत्यु भएको थियो । नेता खनालले सर्लाहीको चुनाव प्रचारका क्रममा उक्त घटना बारे थाहा पाउनुभयो । त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखेर २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को स्थापना भयो । अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिइएको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको