Like us!
Follow us!
Connect us!
Watch us!

कालीमाटीमा प्रहरीको छापा, खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री प्रयास !

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १८ : २४ मा प्रकाशित

कालीमाटीमा प्रहरीको छापा, खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री प्रयास !

अर्थ संसार, काठमाडौं - चाडपर्व नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि शङ्कास्पद क्षेत्रमा छापा मारेर त्यस्ता कार्यमा संलग्न केही  व्यवसायीलाई पक्राउसमेत गरेको छ ।
 
महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले आज मात्रै काठमाडौँको कलङ्कीबाट झण्डै पाँच करोड रुपैयाँ मूल्य बराबरका त्यस्ता खाद्य वस्तु बरामद गरिएको जानकारी दिए । मिति सकिएको खाद्य वस्तुलाई नयाँ मिति लगाएर बजार पठाउने तयारी गर्दै गर्दा भण्डारबाटै चार जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले बताए ।  

उनका अनुसार विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई थलोमै पक्राउ गरेको हो । बन्दाबन्दीका समयमा नबिकेका सामानलाई मिति सच्याएर बजारमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुका साथबाट त्यस्ता स्टिकर, छाप र छाप लगाउने यन्त्रसमेत बरामद गरिएको छ । उनीहरुले चकलेट, बिस्कुट, आँटा, मैदा, तेल, चामल, दाललगायतमा मिति सच्याएको पाइएको छ ।

यसअघि पनि प्रहरीको सहयोगमा वाणिज्य विभागले यसैगरी केही व्यवसायीलाई पक्राउ गरेको थियो । यस्ता गतिविधि बजारमा देखिएकाले प्रहरीले निगरानी बढाए । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको