Like us!
Follow us!
Connect us!
Watch us!

तिहारको पहिलो दिन आज काग तिहार, कसरी मनाउने ?

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, ०७ : ३२ मा प्रकाशित

तिहारको पहिलो दिन आज काग तिहार, कसरी मनाउने ?

अर्थ संसार, काठमाडौं – नेपालीहरुको दोश्रो ठुलो चाड तिहार सुरु भएको छ ।  तिहारको पहिलो दिन आज काग तिहार, यमराजको दूत कागलाई मीठा– मीठा खानेकुरा खान दिएर मनाइदैछ ।  आजदेखि भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा–मीठा खान दिई खुशी पार्नको लागि काग तिहार मनाइने शास्त्रीय विश्वास समेत रही आएको छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
आज बिहान पहिलो प्रहरमै कागलाई मीठा–मीठा चिजबिज खान दिएर सम्मान गरिन्छ । यसैगरी आजै आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मजयन्ती पनि मनाइँदैछ । देवता र दानवबीच समुद्र मन्थन हुँदा कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत घडासहित धन्वन्तरि पृथ्वीमा अवतरण भएको पौराणिक मान्यता छ ।

यमपञ्चक शुरु, बिहीवारदेखि यमदीप दान

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने बिहीबार साँझदेखि नै शुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यमदीपदानसहित यमपञ्चक भने बिहीबार बेलुकीदेखि नै शुरु भएको छ ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने बिहीबार नै शुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइन्छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

यस्तै तिहारको दोश्रो दिन भोलि कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको नेपाल पन्चांक निर्णायक समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

त्यसैगरी कात्तिक ३० गाई, गोरु र आत्म (म्ह) पूजा रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतवार बिहान ११:२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

मङ्सिर १ गते भाइटिका, नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको