Like us!
Follow us!
Connect us!
Watch us!

तिहार आयो : बजारमा मिठाइ, फलफूल र मसलाको बढ्दो माग (फोटोफिचर )

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, ११ : ०६ मा प्रकाशित

तिहार आयो : बजारमा मिठाइ, फलफूल र मसलाको बढ्दो माग (फोटोफिचर )

दशैंको चटारो नसकिदै अर्को ठूलो चाड तिहारले नेपालीहरुको संघारमा पाइला टेकेको छ । दशैं लत्ताकपडा, मासु र मदिराको चाड थियो । तिहार भने गरगहना, भाडाकुडा, मिठाइ, मसला, फूल र फलफूलको चाडका रुपमा मनाइन्छ । बजार ति सामग्रीको किनमेलले बजार तात्ने गर्छ । यस बर्ष कोरोना भाइरस संक्रमणको विस्तारले विगतको जस्तो बजारमा रौनक छैन । तैपनि ब्यापारीले तिहारका लागि ग्राहकलाई आकर्षित गर्न प्रबर्धन सुरु  गरिसकेका छन् । 

तिहार आउनु १५ दिन अगाडिदेखि पसलहरु झकिझकाउ हुन थालेका छन् । काजु, किसमिस, छोकडा, नरिवल, पिस्ता, बदामलगायतका मसला पसलमा उपभोक्ताको भिड लागेको छ । त्यस्तै कतिपयले तिहारका रात झिलिमिली पार्न विद्युतीय बत्ती किनिरहेका छन् । तिहारलाई धनकी लक्ष्मीको चाड समेत भनिन्छ । बजारमा यतिखेर सुनचादीका गहना, भाडा जोड्नेहरुको समेत गहना पसलमा भिड बढ्दै छ । तिहारकै अवसर पारेर सुनचादीका गहना र भाडावर्तन जोड्ने पुरानो परंपरा हो ।

तिहारमा अन्य दिनको तुलनामा सुनचादीको माग दोब्बर हुने सुनचादी ब्यवसायी संघले जनाएको छ । यति बेला दैनिक ६० किलो सुनचादी खपत हुने संघको अनुमान छ । सुनचादी महंगिएकाले यति खपत हुने अनुमान गरिएको हो । लक्ष्मी पूजाका दिन धनसम्पत्ति पूजा गर्ने चलन छ । त्यसैले यतिखेर जोडेको सम्पत्ति दीगा हुने मान्यता छ । लक्ष्मीले धनले परिपूर्ण गरिदिन्छीन भनेर सम्पत्ति जोडेरै पूजा गर्ने चलन भएकाले यतिखेर कारोबार निकै बढ्छ ।

फूलको मालाको कारोबार सम्मेत निकै बढेको छ । घर सिगार्न सयपत्रीको माला धेरै प्रयोग गरिन्छ । दाजुभाइलाई लगाइ दिन मखमलीको प्रयोग बढ्दो छ । मखमली कहिल्यै नओइलाउने भएकाले आफ्ना दाजुभाइलाई माला ओइलाएपछि मात्र लैजान यमराजलाई दिदीबहिनीले भनेको पौराणिक आख्यान अनुसार यसकै माला लगाइने चलन बढेको हो । विगत बर्षमा यति बेला मुलुकमा उत्पादन भएको फूलले नपुग्ने भएकाले भारतबाट समेत ल्याइने गरेको थियो । यस बर्ष स्वदेशी फूलले माग धान्ने  अनुमान छ । गाउँघरमा आफ्नै आगन र करेसाबारीमा लगाएको फूलले तिहार धानिन्छ । सहरमा भने आवश्यक सबै माला किनेर प्रयोग गरिन्छ । फ्लोरिकल्चर एशोसिएसनका अनुसार तिहारका बेला गत बर्ष ५ करोडभन्दा बढीको फूल विदेशबाट आयात गरिन्छ । 

तिहारमा मिठाइको खपतसमेत निकै हुदै आएको छ । पछिल्लो समय परंपरागतभन्दा फरक स्वादका मिठाइप्रति उपभोक्ताको रुची बढ्दै गएको छ । दाजुभाइलाई समेत टिका लगाएपछि मिठाइ दिने चलन छ । त्यसैले यतिखेर मिठाइको कारोबार उच्च हुने ब्यवसायीको अनुमान छ । तिहारमा गुणस्तरयुक्त मिठाइको कारोबार निकै बढ्ने अनुमान गरिएको छ ।

तिहारका बेला फलफूलको कारोबारसमेत बढ्ने गरेको छ । यो बेला सबैभन्दँ बढी स्याउको कारोबार हुने गरेको छ । मुलुककै हुम्ला, जुम्ला, मुस्ताङलगायतका जिल्लामा स्याउ उत्पादन हुने भए पनि ढुवानीका समस्याले शहरसम्म आइपुग्दैन । मुलुकका विभिन्न शहरमा चिनिया स्याउले एक छत्र राज गर्दै आएको छ । यसपालीको तिहारका लागि अरु बेलाको भन्दा दोब्बर परिमाणमा स्याउ भित्रयाइने फलफूल थोक ब्यवसायी संघले जनाएको छ । यसबाहेक, केरा, मौसम, सुन्तला, जुनार, अनारलगायतका फलफूको समेत माग उच्च छ । 

तिहारका बेला सुख्खा फल (मसला)को कारोबारसमेत उच्च हुने गरेको छ । काजु, किसमिस, बदाम, पिस्ता, ओखर, नरिवल, सुकुमेल, ल्वाङलगायतका मसलाको विक्री अरु बेलाको तुलनामा पाच गुणा बढ्ने खुद्रा ब्यापारीको भनाइ छ । राजधानीको असन, इन्द्रचोकलगायतका मसलाका पसल रहेका स्थलहरुमा उपभोक्ताको घुइचो देख्न सकिन्छ । 

 तिहारलाई झिलिमिली पार्न विजुलीका रंगिविरंगि वत्तीको कारोबारसमेत त्यतिकै बढेको छ । लक्ष्मीले उज्यालो घरमा मात्रै पाइला राख्छिन् भन्ने मान्यताले लक्ष्मीपूजादेखि भाइटिकासम्म रातभर घरै उज्यालो हुने गरी रंगिचंगि बत्ति बाल्ने चलन छ । बजारमा रोजाई अनुसार विभिन्न रंग र आकृतिका विद्युतीय बत्ती पाइन्छन् । यो बेला मैनवत्तीको समेत कारोबार निकै बढ्ने असनका एक ब्यापारी बताउछन् । लोडसेडिङका बेलामात्र खोजिने मैनवत्ती हरेक घरले तिहारका तीन दिन साझमा बाल्न प्रयोग गर्छन् । तेल र बत्ती राखेर बालिने माटाको पालाको कारोबारसमेत निकै बढेको भक्तपुरमा माटाको भाडा बनाउदै आएका रामप्रसाद प्रजापतिले बताए । युवायुवत्ती र आधुनिकता मनपराउनेले विद्युतीय र मैनवत्ती प्रयोग गरे पनि परंपरा जोगाउन चाहनेहरुले बत्ती पाल्न पालाकै प्रयोग गर्ने उनले बताए ।

तिहारको अर्थतन्त्रमा खासै गणनामा नआउने तर ठूलो रकमको कारोबार हुने चिज पटाका पनि हो । बारुदजन्य पदार्थ प्रतिवन्धित भए पनि ठूलो आवाजमा पड्काएर रमाइलो गर्न लुकिछिपी पटाकाको ठूलो कारोबार हुने गरेको छ । केही दिनअघि भारतबाट राजधानी भित्र्याइँदे गरेको ठूलो परिमाणको पटाका सिन्धुलीको चियाबारीमा प्रहरीले बरामद गरेको थियो । प्रहरीले जति रोके पनि पटाका, भिर्झिरे, रकेटलगायतका बारुदजन्य पदार्थको लुकिछिपी कारोबार तिब्र छ । खुला सीमानाका कारण भारतबाट ठूलो परिणामा यस्ता पदार्थ भित्रने गरेका छन् ।

प्रहरीले विभिन्न स्थानमा यस्ता पदार्थ बरामद गरेर नस्ट गरेको खवर आइरहेका छन् । यसबाहेक तिहारमा तास, कौडा, लंगुरबुर्जाका सामग्रीको कारोबार समेत धेरै हुने गरेको छ । विदाका बेला मनोरंजन गर्ने नाममा दशैंदेखि घरघरमा तासजुवा र सडकमै लंगुरबुर्जा खेलाउने क्रम सुरु भइसकेको छ ।   

त्यसो त नेपालीहरु चाडबाड धेरै मनाउछन् । हरेक चाडबाडमा केही न केही किनमेल गरिन्छ । तिहार सकिएलगत्तै तराईको महान चाड छठ आउछ । त्यसपछि ल्होसार, उभौलीलगायतका चाड आउछन् । जातिय समूदायले ती चाडलाई आफ्नै किसिमले मनाउछन् । जुन चाड आए पनि बजार भने फाइदामा जान्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको