नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु. पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । 
गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रु. पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनले कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले उपलब्ध गराएको बताए । 
नगरपालिकाले कोरोना विरुद्धको अभियानमा सहयोग पर्याउने उद्देश्यले कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिलाई होम आइसोलेशनमा बस्न र सङ्क्रमणविरुद्ध पौष्टिकयुक्त अहारा खान आग्रह गर्दै त्यसबापत रु. पाँच हजार एकमुष्ट सहयोग दिने निर्णयानुसार सङ्क्रमति सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । 
प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले कोरोना सङ्क्रमितको सङ्ख्या करीब एक हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरुका लागि पोषणभत्तास्वरुप रु. ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए । अहिलेसम्म नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या एकसयको हाराहारीमा रहेको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिए ।  
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस