Like us!
Follow us!
Connect us!
Watch us!

७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित, मृत्यु कति ?

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १४ : २३ मा प्रकाशित

७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित, मृत्यु कति ?

हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।

महासङ्घले च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।

महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी स्व पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । गत वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

चौध दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे उपचारका क्रममा निधन भएको हो । झापाको साबिक दोरामारी गाविस निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । महासङ्घ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकाल अध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

“उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ, साथै शोकको यस घडीमा महासङ्घ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको