Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना उपचार र रोकथाममा सुनवलबाट सिक्ने कि !

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, १३ : ४२ मा प्रकाशित

कोरोना उपचार र रोकथाममा सुनवलबाट सिक्ने कि !

कोरोना  सङ्क्रमित वृद्धि भएपछि नववलरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट (एचडियू) सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको  छ । अस्पतालमा विशेषज्ञ चिकित्सक सहित दश श्ययाको एचडियू र १९ श्ययाको अक्सिजन जडित आइसोलेशन रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामै सुविधायुक्त अस्थायी कोभिड अस्पताल शुरु भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बाहेकका  सङ्क्रमितको उपचारमा सहज भएको नगरप्रमुख भीमबहादुर थापाले राससलाई जानकारी दिए । 

सुनवल–१ सोमनाथस्थित बाल सिकाइ केन्द्रको दुईतले भवनमा अस्पताल सञ्चालन गरिएको छ ।  पहिलो तलामा अक्सिजनसहितको आइसोलेशन र दोस्रो तलामा एचडियू सेवा  छ । भवनको नजिकै रहेको सुनवल जेसिजको भवनमा २४औँ घण्टा एकजनाको दरले स्वास्थ्यकर्मी रहने गरी सचिवालय बनाइएको छ । 

अहिले १४ सङ्क्रमितको अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ । एचडियू सञ्चालनका लागि सर्वाेत्तम सिमेन्ट उद्योग प्रालिले करीब रु ७० लाख बराबरको मेडिकल उपकरणसहितको सामग्री उपलब्ध गराएको हो ।  अस्पतालमा अहिले दुई चिकित्सक र १२ स्वास्थ्यकर्मी रहेको उक्त अस्पतालका डा चन्द्रशेखर यादवले बताए । एचडियू सेवाका लागि थप तीन चिकित्सक थप्न लागिएको नगरप्रमुख थापाले जानकारी दिए। 

कोभिड सङ्कट व्यवस्थापनमा सुनवल जिल्लामै नमूना र अब्बल रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय बताउँछन् । “सुनवलमा व्यवस्थित तरिकाले कोरोना नियन्त्रणको प्रयास गरेको पाइएको छ, राम्रो व्यवस्थापन र स्तरीय सेवा दिएको छ, जनप्रतिनिधि, कर्मचारी तथा सुनवलवासी सबैको सक्रियता र सहयोगले यो सम्भव देखिएको हो”, उनले भने । 

स्वास्थ्य कार्यालयका अनुसार हाल सुनवलमा ४३५ सक्रिय सङ्क्रमित रहेका छन् भने ३३ ले  सङ्क्रमणबाट ज्यान गुमाउनुपरेको छ । नगरपालिकाले होम आइसोलेशनमा बसेका सङ्क्रमितको पनि घरमै पुगेर उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ । होम आइसोलेशनमा बसेकालाई अक्सिजन आवश्यक पर्दा तत्कालै उपलब्ध गराउने गरिएको छ भने चिकित्सकको परामर्श र १३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । 

पिसिआर जाँच गर्न चाहनेका लागि नगरपालिकाले हरेक दिन बुटवलसम्म लैजाने ल्याउने गरी यातायातको सुविधा व्यवस्था गरेको छ । 

नगरपालिकाले कोभिडको कारणले मृत्यु हुनेको घरमा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको छ । नगरपालिकासँग रहेका तीनवटा एम्बुलेन्समध्ये एउटा कोभिड बिरामी बोक्न, एउटा अन्य बिरामी बोक्न र एउटा सुत्केरी बोक्न प्रयोग गरिएको छ । 

कोभिड सङ्कट व्यवस्थापन र सङ्त्रमणबाट नागरिकको ज्यान जोगाउन नगरपालिकाले थप रु २५ लाख बजेट रकमान्तर गरेको छ । अस्पतालका डा यादवले अधिकांश बिरामीहरु जटिल अवस्था भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या भइरहेको बताउँछन् । यसअघि बर्दघाट नगरपालिकाले पनि एचडियूसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका सात स्थानीय तह र जिल्ला अस्पतालमा गरी १०३ श्ययाको अक्सिजनसहितको आइसोलेशन श्यया रहेको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको