Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञा जारी रहेकै बेला काठमाडौंका सडकमा सवारी जाम

पत्रपत्रिका

मंगलबार, २५ जेठ २०७८, ०७ : १८ मा प्रकाशित

निषेधाज्ञा जारी रहेकै बेला काठमाडौंका सडकमा सवारी जाम

कोरोना भाइरस संक्रमण कायमै रहेको र निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थालेको छ। महामारीको यो घडीमा मुख्यतः दुई कारणले निषेधाज्ञा उल्लंघन भइरहेको देखिन्छ। एक, बाहिर कस्तो रहेछ भन्दै हेर्न निस्किने। दुई, रोजीरोटी र बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता।

विज्ञ भने सरकार आफ्नो दायित्व एवं कर्तव्य पूरा गर्न चुकेका कारण जनताले निषेधाज्ञा उल्लंघन गर्न सुरु गरेको तर्क गर्छन्। जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी राज्य अभिभावक भएकाले पहिलो सर्तका रूपमा राज्यले नै कर्तव्य पूरा गर्नुपर्ने बताउँछन्। 

‘सरकारले कर्तव्य पूरा गर्ने हो। त्यसपछि नागरिकलाई पनि आफ्नो कर्तव्य सम्झाउने र पालना गर्न लगाउनुपर्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी भन्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल राज्यले ६ वटा दायित्वलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको बताउँछन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले  ६ टी (टेस्टिङ, ट्राभल रेस्ट्रिक्सन, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट, टुगेदर) को रणनीति बनाए पनि कार्यान्वयन नगरेको डा. प्याकुरेको भनाइ छ। 

‘राज्यको अधिकार र कर्तव्यसँगै जनताको पनि अधिकार र कर्तव्यको कुरा आउँछ। राज्य र जनताबीचको कर्तव्यबीच नै सामञ्जस्यता भएन। आपसमा मेल खाएन’, डा। प्याकुरेल भन्छन्। निषेधाज्ञा गर्नु सरकारको अधिकार भए पनि ‘६ टी’को रणनीति कार्यान्वयन र खोपको व्यवस्थापन सरकारको कर्तव्य भएको उनी बताउँछन्। ‘सरकारले कर्तव्य निभाउँदै निषेधाज्ञा पनि लगाएको भए जनताले वाहवाही गर्थे। निषेधाज्ञाको पनि विरोध नगरी पालना गर्थे’, उनी भन्छन्, ‘जनताले पनि सरकारले भने झैं जनस्वास्थ्यको मापदण्ड पालना गरेर बस्नु कर्तव्य हो। 

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर लगाउने जनताको कर्तव्य हो। सरकारको ६ टीको रणनीति अनुसार कोरोना भाइरसको परीक्षण (टेष्टिङ) उपचार (ट्रिटमेन्ट) सँगै खोप लगाउन पाउनु पनि जनताको अधिकार हो।’ जनताको अधिकतम हित र रक्षा गर्नुनै सरकारको पहिलो कर्तव्य हो। त्यो दायित्व पूरा गर्न सरकारले प्रहरी प्रशासन लगाएर निषेधाज्ञाको कार्यान्वयन गराइरहेको छ। यस कार्यमा विशेष गरी नेपाल प्रहरी खटिएको छ। 

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर कतिपय व्यक्ति मोटरसाइकल वा गाडी लिएर बिनाकाम बाहिर निस्केको पाइएको बताउँछन्। ‘मुलुकभर दैनिक हजारौं व्यक्तिलाई सम्झाइबुझाइ गर्नुपरिरहेको छ’, प्रवक्ता कुँवर भन्छन्, ‘कोरोना भाइरसबारे सचेत गराइरहेका छौं। नियम नमान्नेहरूका कारण चेक प्वाइन्टमा भनाभन समेत हुने गरेको  छ।’ प्रहरी प्रवक्ता कुँवर निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउने क्रममा दुव्र्यवहार र आक्रमणसमेत सहनुपरिरहेको बताउँछन्। ‘प्रहरीका साथै अन्य सुरक्षा निकायलगायत सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिइएको छ’, उनी भन्छन्।  

काम विशेषले बाहिर निस्केका कतिपय भने प्रहरीले बीच बाटोमै रोकिदिँदा अलपत्र परेको गुनासो समेत गर्छन्। ‘निषेधाज्ञाको समयमा बाहिर हिँडडुल गर्नुहुँदैन’, मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘कतिपयले नियमरकानुन पेलेर हिँडेका हुन सक्छन्। कतिपय साँच्चिकै आवश्यक काम परेर हिँडेका हुन सक्छन्।’

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल कोरोना संक्रमितको संख्या घटे पनि अवस्था सन्तोषजनक भइनसकेको बताउँछन्। ‘स्वास्थ्य मापदण्ड पालना नगरी घरबाहिर जथाभावि निस्कनु जोखिमपूर्ण छ’, प्रवक्ता डा। पौडेल भन्छन्। पछिल्लो २४ घण्टामा सोमबार मुलुकभर ३ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८५ हजार ५ सय ४४ जना  सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 
अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको