Like us!
Follow us!
Connect us!
Watch us!

स्टार्टअप र उद्यमशीलता विकास गर्न घरेलु महासंघको स्थानीय तहसँग सहकार्य

अर्थ संसार

शनिबार, १६ साउन २०७८, १६ : ०६ मा प्रकाशित

स्टार्टअप र उद्यमशीलता विकास गर्न घरेलु महासंघको स्थानीय तहसँग सहकार्य

नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय निकायसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ ।

राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरी शनिश्चरे गाउँपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो ।

सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेशको विकास र प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ ।

यो सम्झौताले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी महिला तथा युवाले उद्योग स्थापना गर्न, व्यवसाय गर्न महासंघ र स्थानीय निकायले सघाउने भएका छन् । युवा उद्यमीलाई सघाउन र प्रोत्साहित गर्न महासंघले विशेषज्ञ सेवा दिने र स्थानीय निकायले आफ्नो कार्यक्रम अनुसार बजेट तथा सेवाहरु उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।

महासंघसँग रहेको ज्ञान, अनुभव, सीपलाई साटासाट गर्दै त्यसलाई अझ बढी व्यवस्थित गर्दै उद्यमशीलता विकासका साथै पालिकाहरुलाई आत्मनिर्भर पालिका बनाउने लक्ष्यका साथै अगाडि बढ्ने महासंघले जनाएको छ ।

यो सहमति कार्यन्वयन गर्ने सम्बन्धमा महासंघको केन्द्रिय टोलिले यसबारेको अवधारणा पत्र सहित छिट्टै यी पालिकाहरुको भ्रमण गर्ने भएको छ । यी परियोजनाहरु कार्यान्वयन गर्ने मोडालिटिको बारेमा महासंघका सम्बन्धित नगर समिति र नगर महिला उद्यमी समिति, जिल्ला समिती मोरङ र जिल्ला महिला उद्यमी समिति तथा १ नं प्रदेश प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिसँग संयुक्त छलफल गर्नेछ ।

सम्झौता अनुसार स्टार्टअप बिजनेश गर्न चाहनेलाई सरकारले घोषणा गरेको कर्जा लगानी सहजीकरणका लागि दुवै पक्षले कार्य गर्ने भएका छन् भने महिला, युवा तथा कृषि उद्यमीका लागि सरकारले उपलब्ध गराउने घोषणा गरेको सहुलियतपूर्ण कर्जा तथा पुनकर्जा प्राप्तिका लागि दुवै पक्षले सहजीकरण गर्ने भएका छन् ।

महासंघ र नगरपालिकाले सञ्चालन गर्ने महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप विजनेशसँग सम्बन्धित कार्यक्रमहरुमा एकले अर्कोलाई अनिवार्य सहभागी गराउने भएको छ भने विभिन्न निकायमा यससँग सम्बन्धित आयोजना, परियोजना र कार्यक्रमहरु प्रस्ताव गर्दा एकले अर्कोको सहभागिता र साझेदारीलाई सुनिश्चितता प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको