Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी र कृषि मेला फागुन २ देखि हुने, ७ करोड बढीको आर्थिक कारोबार हुने प्रक्षेपण

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १४ : ०५ मा प्रकाशित

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी र कृषि मेला फागुन २ देखि हुने,  ७ करोड बढीको आर्थिक कारोबार हुने प्रक्षेपण

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत ३ वर्षदेखि स्थगित भएकोमा यस पटक अगामी २०७९ फागुन २ देखि ६ गतेसम्म हुने भएकाे छ ।

“नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला-२०७९” नामबाट भृकुटीमण्डपमा आयोजना हुनेछ । मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरु लाई प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य नारा “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैंरै नेपालको" भन्ने रहेको छ ।

"हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेको भएतापनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन संकिरहेका छैनन् जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडीदेखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ । विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न सुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष “नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला-२०७९” को नाममा आयोजना हुँदैछ ।", प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी B2B, B2C, B2G जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएकाे छ ।

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरु समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलब्ध गराउन यस्ता उत्पादनको विक्रि वितरणलाई सहयोग पुयाउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको छ । अर्गानिक उत्पादनहरुको बारेमा आम नागरिकमा जानकारी दिदै त्यस्ता उत्पादनको प्रवर्द्धन गरी अर्गानिक अभियानलाई टेवा पुऱ्याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गरी अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वस्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्य प्राङगारिक कृषि मेलाको रहेको छ भने नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुऱ्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरु उपलब्ध गराउने, अर्गानिक विषयहरुमा सरोकारवालाहरुसँग अन्तरकृया आदि गरिने अर्गानिक कृषि मेलाको उद्देश्य रहेको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने रु ७ करोड भन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह-आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय- व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश सरकार आदि रहनेछन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैह्रसरकारी संघसंस्थाहरु यसका प्रवर्द्धक र सहयोगी रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको